काठमाडौं- वर्तमान शिक्षामन्त्री सस्मित पोखरेलले आठ वर्षअघि चिकित्सक डा. गोविन्द केसीको जुनसुकै आन्दोलनमा आफू साथमा रहने सार्वजनिक प्रतिबद्धता जनाएका थिए। तर अहिले डा. केसीले शिक्षा मन्त्रालयकै क्षेत्राधिकारभित्र पर्ने चिकित्सा शिक्षा सम्बन्धी निर्णय र नियुक्तिविरुद्ध सत्याग्रह सुरु गरेका छन्।
डा. केसी बिहीबारदेखि २४औँ अनसनमा बसेका छन्। उनका मुख्य मागहरू चिकित्सा शिक्षा आयोगका निर्णय, मेडिकल विश्वविद्यालयमा भएका नियुक्ति, छात्रवृत्ति कटौती, निजी मेडिकल कलेजमा सिट वृद्धि तथा चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने कानुनी व्यवस्था कार्यान्वयनसँग सम्बन्धित छन्। यी विषयहरू शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगसँग प्रत्यक्ष जोडिएका छन्।
यही सन्दर्भमा शिक्षामन्त्री पोखरेलले सन् २०१८ जुलाई ३ मा गरेको फेसबुक पोस्ट पुनः चर्चामा आएको छ।
त्यसबेला उनले नेताहरूले जनतालाई झुटा आश्वासन दिएर मत लिने तर जनताको अधिकारका लागि अनशन बस्ने डा. केसीलाई नै आलोचना गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका थिए। उनले लेखेका थिए, 'माफियाहरूविरुद्धको लडाइँ सहज हुँदैन। सरकारलाई च्यापेर बसेका हुन्छन्। त्यसैले म छाती फुलाएर भन्छु, डा. केसी जति लड्छन्, जो–जोसँग लड्छन्, म जहिल्यै उनको साथमा हुन्छु। जनताको साथले नै यो लडाइँ जित्ने हो। चाहे जे सुकै होस्, अन्त्यमा सत्यकै जीत हुन्छ।' उनले पोस्टको अन्त्यमा #IAmWithDrKC पनि लेखेका थिए।
-1784809418.png)
तर अहिले डा. केसीले उठाएका मागहरू भने शिक्षा मन्त्रालयकै कार्यक्षेत्रसँग जोडिएका छन्। उनले चिकित्सा शिक्षा आयोगमा स्वार्थको द्वन्द्व हुने गरी गरिएका नियुक्ति तत्काल खारेज गर्न, मापदण्डविनै निजी मेडिकल कलेजमा सिट थप्ने निर्णय र छात्रवृत्ति कटौतीको प्रस्ताव फिर्ता लिन तथा 'राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५' ले व्यवस्था गरेअनुसार चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने प्रावधान कार्यान्वयन गर्न माग गरेका छन्। साथै, विगतमा सरकारसँग भएका लिखित सम्झौताहरू पनि कार्यान्वयन गर्नुपर्ने उनको माग छ।
डा. केसीका यी माग कार्यान्वयन गराउने जिम्मेवारी सरकार, विशेषगरी शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित भएकाले विगतमा ;डा. केसी जहाँ लड्छन्, म त्यहीँ हुन्छु' भन्ने सार्वजनिक अभिव्यक्ति दिएका शिक्षामन्त्री पोखरेल अहिले कस्तो भूमिका खेल्छन् भन्ने विषयलाई धेरैले चासोका साथ हेरेका छन्।