काठमाडौं- विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले स्वास्थ्य खबर पत्रिकामा प्रकाशित समाचारमा प्रतिक्रिया दिँदै मन्त्रालयले आवेदन माग गर्दा कार्यविधिअनुसार ‘आयुर्वेद विषयमा स्नातकोत्तर’ भन्ने स्पष्ट योग्यता तोकेकाले सोही मापदण्ड पालना हुनुपर्ने अडान दोहोर्याएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थानले दिएको समकक्षता अस्वीकार गर्दै उक्त विषयमा सर्वोच्चको फैसलामा 'टिप्पणी नगर्ने' जनाएको छ।
विज्ञप्तिमा आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४५ अनुसार चिकित्सकको परिभाषाभित्र पर्ने व्यक्तिलाई अध्यक्ष नियुक्त गर्न सकिने व्यवस्था रहेको स्वीकार समेत गरिएको छ। जसअनुसार अहिले समाजले आपत्ति जनाइरहेको अध्यक्षका उम्मेदवार डा जया सत्यालको योग्यता पुगेको छ।
'यदि नियुक्ति प्रक्रिया आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४५ अनुसार अघि बढाउने हो भने हालको सूचना खारेज गरी ऐनअनुसार चिकित्सकका रूपमा दर्ता भएका सबै आयुर्वेद स्नातक तथा स्नातकोत्तरले आवेदन दिन पाउने गरी नयाँ सूचना प्रकाशित गर्नुपर्छ,' समाजको माग छ।
समाजका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारी छनोट, सिफारिस तथा नियुक्तिसम्बन्धी कार्यविधि, २०८३ अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्को अध्यक्ष पदका लागि आवेदन आह्वान गर्दा ‘आयुर्वेद विषयमा स्नातकोत्तर’ र १५ वर्षको कार्य अनुभवलाई योग्यता तोकेको थियो। तर अन्तर्वार्ताका लागि प्रकाशित सूचीमा परेकी डा. जया सत्याल आयुर्वेद विषयमा स्नातकोत्तर नभई परम्परागत चिनियाँ उपचार पद्धति (टीसीएम/अकुपञ्चर) मा स्नातकोत्तर रहेको समाजको दाबी छ।
समाजले चिकित्सा शास्त्र अध्ययन संस्थानले २०७१ सालमा जारी गरेको ‘समकक्षता’ पत्रलाई विदेशी विश्वविद्यालयबाट प्राप्त डिग्रीको समकक्षता निर्धारण गर्ने आधिकारिक आधार मान्न नसकिने जनाएको छ। साथै, सोही संस्थानले आयुर्वेद विभाग टेकुलाई सम्बोधन गरी जारी गरेको अर्को पत्रमा टीसीएम र आयुर्वेदको स्नातकोत्तर फरक–फरक विषय भएको स्पष्ट उल्लेख गरिएको दाबी पनि समाजले गरेको छ।
यसै विषयमा सर्वोच्च अदालतले गरेको फैसलामाथि भने कुनै टिप्पणी नगर्ने बताउँदै तोकिएको मापदण्डअनुसार नै छनोट प्रक्रिया सञ्चालन हुनुपर्नेमा जोड दिएको छ।
यस्तो छ विज्ञप्ति :

