काठमाडौं- अर्घाखाँचीकी रीता अधिकारी बिहे गरेर काठमाडौं आइन्। उनका श्रीमान् काठमाडौँमै फार्मेसी सञ्चालन गर्थे। उनलाई सघाउनकै लागि रीता फार्मेसी जान्थिन्। तर, कुन रोगका लागि कुन औषधि दिने, उनलाई थाहा हुँदैनथ्यो । श्रीमान् फार्मेसी व्यवसायमै भएकाले उनले समय निकालेर सकेसम्म सहयोग गरिरहेकी थिइन्। जतिबेला उनी नेपाली विषयमा स्नातकोत्तर गर्दै थिइन्।
श्रीमान् र परिवारका अरु सदस्यले पछि उनलाई फार्मेसी पढ्न सुझाए। पसलमा बस्दै आएकाले उनमा चाख थियो। अन्तत: फार्मेसी पढ्ने निष्कर्षमा पुगिन्।
स्नातकोत्तरको पढाइ र यता पसलको व्यस्तता भए पनि उनले कक्षा लिन थालिन्। पसलको व्यावहारिक र कलेजमा सैद्धान्तिक ज्ञान भएपछि उनी सन्तुष्ट थिइन्। यही समय उनको बच्चा जन्मियो । तब उनलाई समस्या आइलाग्यो। ‘फार्मेसीमै खाना पुर्याउनुपर्थ्यो, कलेज र बच्चा स्याहारले गर्दा निकै प्रेसर थियो,' उनी भन्छिन्।
बसाइ बुद्धनगर, पसल बानेश्वर र कलेज शंखमूल। तीनतिर उनलाई भ्याइनभ्याई थियो। बच्चा ९ महिना पुगेपछि उनले फार्मेसीको लाइसेन्स परीक्षा पास गरेर काम सुरु गरिन्।
व्यस्तता र कठिनाइ झेल्दै पढेका कारण उनलाई यो पेसाप्रति आत्मीयता पनि छ। पढाइ सकेपछि उनले बानेश्वरस्थित छकुबकु मन्दिरनेर दया फर्मा खोलेको पाँच वर्ष भयो ।
उनले डाक्टरको प्रेस्किप्सनबिना बेच्ने सिटामोल, निको र साइनेक्स जस्ता औषधि मात्रै हुन्। उनी भन्छिन्, ‘धेरैजसो औषधि किन्न प्रेस्किप्सन ल्याएर आउँछन् । कतिले चाहिँ आफूले खाने गरेको औषधिको खोल लिएर आउँछन् । उनीहरुलाई पनि औषधि दिएर पठाउँछौं ।’
किशोरावस्था र युवा अवस्थाका केटाहरु निद्रा लाग्ने र झुम्म बनाउने औषधि चाहियो भन्दै उनीकहाँ आइपुग्छन् । उनले त्यस्तो औषधि डाक्टरको प्रेस्किप्सनबिना दिन नमिल्ने भनेर सम्झाउँछिन् । ‘कतिलाई छैन भन्दा पनि जान्छन्। कति त झगडै गर्न खोज्छन्,’ उनले बाध्यता सुनाइन्।
फार्मेसी नै पढे पनि पसल सुरु गर्दा उनका श्रीमानको लाइसेन्स थिएन। त्यो समय उनीहरु निकै डराउँथे । ‘बेलाबेला चेकिङ गर्न आइरहने भएकाले निकै डराउँदै पसल चलाउथ्यौं,’ उनले भनिन्, ‘पछि मैले लाइसेन्स निकालेपछि मात्र ढुक्क भएको छ ।’
आफ्नो पेसा सेवामूलक रहेको पनि उनले बुझेकी छिन्। सेवामूलक भएकैले धेरै मान्छेहरु सहयोग माग्न उनीकहाँ पुग्ने गरेका छन्। 'स्याम्पलका रुपमा आएका सामान औषधि किन्न नसक्नेहरुलाई दिएर पठाउने गरेका छौं,’ उनले भनिन्।
गर्भनिरोधक औषधिहरु दोहोर्याएर किन्न आउनेहरुलाई सकेसम्म यसका 'साइड इफेक्ट'बारे सम्झाएर पठाउने गरेकी छिन् उनले ।
अरु सामान जस्तै औषधि किन्नेहरु पनि डिस्काउन्ट माग्ने गर्छन्। उनले पनि मिल्नेसम्मको डिस्काउन्ट दिने गरेकी रहिछन्।
औषधिको अवधि सकिने मितिलाई उनले एकदमै ख्याल गरेकी छिन् । त्यसैले उनी सकिनु केही महिना अघिदेखि नै त्यसलाई मिलाएर राख्छिन् । उनी भन्छिन्, ‘सकेसम्म हामीले म्याद गुज्रेका औषधि कसैलाई दिँदैनौं । किनकि म्याद गुज्रिनु तीन महिनाअघि नै कम्पनीले फिर्ता लैजान्छ । तर, उपभोक्ताले पनि सकेसम्म औषधिको म्याद गुज्रे/नगुज्रेको हेर्नुपर्छ ।’