काठमाडौं– नेपाल स्वास्थ्य व्यावसायिक शिक्षाविद्को सम्मेलन हुने भएको छ। नेपाल स्वास्थ्य व्यावसायिक शिक्षाविद् संघको आयोजनामा मंसिर १७ र १८ गते काठमाडौंको सानोभर्याङस्थित नेपाली सेना मेडिकल कलेजमा पहिलो सम्मेलन हुने भएको हो।
सम्मेलनमा १२५ जनाको सहभागिता रहनेछ। सम्मेलनमा चिकित्सा शास्त्र अध्ययन संस्थान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज र यी संस्थासँग आवद्ध मेडिकल कलेजका शिक्षाविद्हरुले २४ वटा कार्यपत्र प्रस्तुत गर्ने संघका अध्यक्ष डा शेखरबाबु रिजालले जानकारी दिए। सम्मेलनमा श्रीलंका, बंगलादेश, म्यानमार, भुटान र थाइल्यान्डका ८ जना शिक्षाविद्को सहभागिता रहनेछ।
सम्मेलनको मुख्य लक्ष्य स्वास्थ्य शिक्षाको गुणस्तर कायम राख्नु रहेको डा रिजालले बताए। उनले भने, ‘सम्मेलनले गुणस्तरीय स्वास्थ्य शिक्षाको विकासमा टेवा पुर्याउनेछ।’
संघका उपाध्यक्ष समेत रहेका आइओएमका डिन डा जगदीशप्रसाद अग्रवालले स्वास्थ्य शिक्षामा गरिएका राम्रा अभ्यासको आदानप्रदान पनि सम्मेनलमा हुने बताए। गुणस्तरीय शिक्षा, चिकित्साका विद्यार्थीमा सञ्चार दक्षता लगायतका विषयमा सम्मेलनमा बहश हुनेछ,’ उनले भने, ‘बिरामी र डाक्टरबीचको सम्बन्धका लागि सञ्चार सीप सबैभन्दा महत्वपूर्ण कुरा हो।’
संघका सल्लाहकार डा हेमाङ्ग दीक्षितले नेपाली चिकित्सा शिक्षाको इतिहासबारे प्रस्तुति दिनेछन्। उनले डाक्टर मात्रै होइन, फार्मेसी, 4 लगायतको इतिहास पनि प्रस्तुत गर्नेछन्।