काठमाडौं- नेपालका वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा नेपाल नेत्ररोग समाजका पूर्वअध्यक्ष डा. शम्भू लाखेको निधन भएको छ। उनको निधनप्रति नेपाल नेत्ररोग समाजले दुःख व्यक्त गरेको छ।
नेपाल नेत्ररोग समाजले जारी गरेको शोक सन्देशअनुसार डा. लाखेले सन् २००४ देखि २००६ सम्म समाजको अध्यक्षका रूपमा नेतृत्व गरेका थिए। उनले नेपालको नेत्ररोग चिकित्सा क्षेत्रको विकास तथा आँखा उपचार सेवाको उन्नतिमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए।
चिकित्सा क्षेत्रमा व्यावसायिक दक्षता, समर्पण र सेवाभावका लागि परिचित डा. लाखेको योगदान नेपाली नेत्ररोग चिकित्सा क्षेत्रका लागि महत्त्वपूर्ण रहेको समाजले उल्लेख गरेको छ।
समाजले उनकी धर्मपत्नी डा. बिमला लाखे, छोरी स्मृति लाखे तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
नेपाल नेत्ररोग समाजले जारी गरेको शोक सन्देशमा डा. लाखेको निधनले चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ।