रेटिनोब्लास्टोमा पाँच वर्ष मुनिका बालबालिकाहरूको आँखाभित्रको पर्दा (रेटिना) मा विकास हुुने क्यान्सर हो ।
रेटिनोब्लास्टोमा थोरै बालबालिकामा मात्र देखिने भए पनि समयमै यसको उपचार नगरे ज्योति गुम्ने, आँखा नै फाल्नुपर्ने वा रोग पुरानो भएर ज्यानै पनि जान सक्छ ।
रेटिनोब्लास्टोमा एउटा जटिल रोग हो । तर प्रारम्भिक अवस्थामा नै यसको पत्ता लागे आँखा, ज्योति र ज्यान बचाउन सकिन्छ भन्छन् चिकित्सकहरू ।
तर चिकित्सकहरूले नेपालमा बालबालिकाको आँखामा यो रोग लागेको निकै समयपछि मात्र अभिभावकले यसबारे थाहा पाउने आफूले अनुभव गरेको बताउँछन् ।
तिलगंगा आँखा प्रतिष्ठानका आँखाको क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णिकार स्थापितका अनुसार थोरै संख्यामा मात्र यो रोग देखिएको भए पनि अघिल्लो वर्ष अस्पतालमा उपचारका लागि आएका करिब ४० बालबालिकामा आँखाको क्यान्सर अर्थात् रेटिनोब्लास्टोमा देखिएको थियो ।
सुरुवाती अवस्थामा नै रोग पत्ता लगाउन सके बालबालिकालाई पूर्ण रुपमा क्यान्सरमुक्त बनाउन सकिने डा स्थापित बताउँछिन् ।
रेटिनोब्लास्टोमा भएको कसरी थाहा पाउने ?
विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगन्जका बाल नेत्ररोग विशेषज्ञ डा ज्योति श्रेष्ठका अनुसार आँखाको नानीमा सेतो थोप्लो देखिनु, असामान्य रुपमा रातो हुनु, आँखा बिस्तारै बांगो अर्थात डेढो हुँदै गए बालबालिकालाई आँखाको क्यान्सर त भएको छैन भनेर शंका गर्नुपर्छ ।
‘यो एउटामा मात्र वा दुवै आँखामा पनि देखिन सक्छ । एउटा मात्र आँखामा भए निकै ढिलो देखिन्छ । तर दुवै आँखामा भयो भने १८ महिनामा देखा पर्छ र बालबालिकाको आँखा सेतो बिरालाकोजस्तो सेतो थोप्लो (क्याट्स आई) देखिन्छ,’ भन्छिन् डा श्रेष्ठ ।
रेटिनोब्लास्टोमा लागेपछि आँखामा यस्ता परिवर्तन देखिए पनि बालबालिका स्वस्थ नै देखिन्छन् । उनीहरूको हाँस्नेखेल्ने, बानीव्यवहार सामान्य नै हुन्छ । तर बिस्तारै उसको दृष्टि क्षमता भने घट्दै गइरहेको हुन्छ ।
रेटिनोब्लास्टोमा आँखाको पर्दाभित्र (रेटिना)बाट सुरु हुने भएकाले पनि प्रारम्भिक अवस्थामा धेरै अभिभावकले बालबालिकालाई रोग लागेको थाहा पाउँदैनन् ।
आँखा रातो हुँदा बालबालिकाको आँखा दुख्छ र उनीहरू झर्किने, झगडा गर्ने पनि गरिहन्छन् ।
त्यसबाहेक अरु धेरै परिवर्तन नहुने भएकाले धेरै आमाबुवाले छोराछोरीलाई रोग लागेको थाहा नपाउँदा उपचार गराउन ढिलो आउने गरेको चिकित्सकहरूको अनुभव छ ।
विपी कोइराला लायन्स नेत्र केन्द्रका कार्यकारी निर्देशक प्राडा आनन्दकुमार शर्मा भन्छन्, ‘रेटिनोब्लास्टोमा हुने प्रमुख कारण वंशाणुगत हुन्छ ।’
कसैलाई रेटिनोब्लास्टोमा भएको पारिवारिक इतिहास छ भने बालबालिकालाई पनि यो रोग हुनसक्ने जोखिम रहन्छ ।
परिवारमा पहिले यो रोग देखिएको भए गर्भावस्थामा जाँच गर्नुपर्ने डा शर्मा बताउँछन् ।
तिलगंगा आँखा प्रतिष्ठानका अर्का नेत्र विशेषज्ञ डा रोहित सैंजुले रेटिनोब्लास्टोमा भए/नभएको थाहा पाउने सजिलो तरिका क्यामेराले फ्ल्यास बालेर फोटो खिच्नु भएको बताए । यसरी फोटो खिच्दा बालबालिकाको आँखाका नानीमा सेतो भए प्रष्ट देखिने उनी बताउँछन् ।
उपचारमा जति ढिलो भयो, त्यति नै नानीमा सेतो दाग फैलँदै जान्छ भने पछि बिस्तारै आँखाको डल्लो नै बाहिर निस्कने र आँखाको आकार असामान्य रुपमा बढ्दै जान्छ ।
डा स्थापित यसरी आँखा बाहिर निस्किएपछि क्यान्सर आँखाबाहिर र शरीरका अन्य अंग जस्तै मस्तिष्क, कलेजो, बोनम्यारो आदिमा फैलने र बालबालिकाको ज्यानसम्म जाने जोखिम हुने बताउँछिन् ।
अमेरिकामा २० हजार बालबालिकामध्ये एक जनामा रेटिनोब्लास्टोमा पाइन्छ । विश्वमा सबैभन्दा धेरै हाइटीका १० हजार बालबालिकामध्ये एक जनामा यो क्यान्सर देखिएको छ । सबैभन्दा न्यून नेदरल्यान्ड्समा ३५ हजार बालबालिकामध्ये एक जनामा मात्र हुने अध्ययनहरूले देखाए पनि नेपालमा भने अहिलेसम्म यसबारे कुनै अध्ययन नगरिएकाले यसबारे कुनै तथ्यांक उपलब्ध छैन ।
माथिका कुनै लक्षण देखिए तुरुन्तै बालबालिकालाई आँखा विशेषज्ञकोमा लैजानु पर्छ । आँखाको भिडियो एक्स–रे, सिटी स्क्यान, एमआरआईजस्ता परीक्षण गरेर यो रोग पत्ता लगाउन सकिन्छ ।
डा सैंजु १७/१८ वर्षअघि शिक्षण अस्पतालमा यसको उपचार सेवा सुरु भएको सम्झँदै त्यसबेला सुरुवाती अवस्थामा नै रोग पत्ता लागेका बालबालिकाहरू सफल उपचारपछि अहिले विभिन्न क्षेत्रमा कार्यरत रहेको बताउँछन् ।
‘त्यस बेला परीक्षण गराउन सबै बालबालिकाहरू सफल उपचारपछि क्यान्सरमुक्त भई विभिन्न पेसामा कार्यरत छन् । कोही उच्च शिक्षा अध्ययन गर्न विदेशमा छन् । उनीहरू अहिले पनि फलोअपमा आउँछन् । उनीहरूसँग भेट्दा निकै खुसी लाग्छ,’ उनले भने ।
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालका मेडिकल डाइरेक्टर इन्दुप्रसाद ढुंगेल बालबालिकामा रेटिनोब्लास्टो प्रारम्भिक चरणमै पहिचान गर्न सके औषधि, लेजरप्रविधि वा केमोथेरापीबाट सफलतापूर्वक उपचार गर्न सकिने बताउँछन् ।
रोगको पहिचान भएपछि केमोथेरापी गरेर दृष्टि जोगाउन सकिन्छ । तर निकै ढिलो मात्र रोग पहिचान भएका वा आँखा बाहिर निस्केकाहरूको शल्यक्रिया गर्नुपर्छ । आँखाको ट्युमर सानो वा बेलैमा रोग पहिचान भए ठूलो हानी नहुने गरि लेजर वा अन्य प्रक्रियाले उपचार गर्न सकिन्छ ।
डा स्थापित अनुसार रोग पहिचान वा उपचार गराउन ढिलो भइसकेपछि भने आँखाको डल्लो निकाल्ने तथा आँखा वरिपरिका भाग र जटिल हाड निकाल्न शल्यक्रिया गर्नुपर्छ । यस्तो अवस्थामा दृष्टि गुम्न सक्ने भए पनि चिकित्सकहरू बिरामीको जीवन बचाउने प्रयास गर्छन् । केमोथेरापी, रेडियोथेरापी (लेजर) र शल्यक्रिया यो रोगका प्रमुख उपचार पद्धति हुन् ।
तिलगंगा र नेपाल आँखा अस्पतालमा केमोथेरापीको सुविधा नभएकाले बिरामीले कान्ति बाल अस्पतालमा केमोथेरापी गराउनुपर्छ ।
केमोथेरापी जोखिमपूर्ण भएकाले दक्ष जनशक्तिको अभावमा सबै आँखा अस्पतालले यो सेवा सञ्चालन गर्न नसक्ने कार्यकारी निर्देशक शर्मा बताउँछन् ।
काठमाडौंस्थित आँखासम्बन्धी रोगका प्रमुख तीन अस्पताल बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र, तिलगंगा आँखा प्रतिष्ठान र नेपाल आँखा अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये रेटिनोब्लास्टोमाका बिरामीलाई उपचार गरेर मात्रै पठाउने गरेको बताउँछन् चिकित्सकहरू ।
डा श्रेष्ठ भन्छिन्, ‘हामी रेटिनोब्लास्टोमा भएका बालबालिकाको लगभग सबै उपचार निःशुल्क गर्छौं, तर केमो गराउन भने बिरामीका परिवारले नै खर्च गर्नुपर्छ । कतिपय अवस्थामा केमोको खर्च बेहोर्न नसक्नेका लागि भने हामीले अस्पतालकै कोष वा अरु दाता खोजेर पनि उपचार गर्छौं । बिना उपचार कोही फर्कनुपरेको छैन ।’
नेपालमा आँखासम्बन्धी सबै रोगको राम्रो र सुलभ उपचार सेवा उपलब्ध छ । कुनै समस्या नभई अस्पताल नजाने, केही नभए पनि समयसमयमा आँखाको परीक्षण नगर्ने कारणले रोग लागेको पत्ता लागुन्जेलसम्म उपचारका लागि निकै ढिलो हुने गरेको चिकित्सकहरू बताउँछन् ।
त्यसैले आफू र आफ्ना साना छोराछोरीको अाँखाको जाँच ६÷६ महिनामा गराउन सुझाउँछन् चिकित्सकहरू । ६/६ महिनामा परीक्षण गराउन सम्भव नभए कम्तीमा वर्षमा एक पटक भने अवश्य चिकित्सकलाई देखाउन नेपाल अाँखा अस्पतालका बाल नेत्रविशेषज्ञ डा सविना श्रेष्ठको सुझाव छ ।