प्यूठान– सर्वव्यापी स्वास्थ्य पहुँच दिवस (युनिभर्सल हेल्थ कभरेज डे) प्यूठानमा पनि मनाइएको छ । सबैका लागि स्वास्थ्य अभियानलाई अझ सशक्त पार्न पैरवी प्रवद्र्धन गर्ने दिनको रुपमा हरेक बर्ष डिसेम्बर १२ तारिखलाई यो दिवसको रुपमा मनाउने गरिन्छ । सन् १९७८ मा अल्माआटामा भएको सम्मेलनमा सहज रुपमा सबै सामु स्वास्थ्य पहुँच बढाउने बिषयमा कुरा उठे तापनि विगत ५ बर्षदेखि संयुक्त राष्ट्र संघले आजको दिनलाई विश्वभर सर्वव्यापी स्वास्थ्य पहुँच दिवसको रुपमा मनाउन सुरु गरेको हो ।सर्वव्यापी स्वास्थ्य पहुँच भन्नाले सबै मानिसहरुले वित्तिय कठिनाई विना गुणस्तरिय अत्यावश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सक्नु पर्दछ भन्ने बुझिन्छ।
सन २०१५ मा सबैजसो राष्ट्रका सरकारले दिगो विकास लक्ष्यको माध्यमद्वारा सन् २०३० सम्ममा स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्त गर्ने दृढता व्यक्त गरेका छन्। स्वास्थ्य सेवामा सहज पहुँच र स्वास्थ्य उपचार सेवा लिने बानीको विकास गर्नका लागि नेपालले सन २००८ मा नै आधारभुत स्वास्थ्य उपचारमा लाग्ने सेवा शुल्क हटाइसकेको छ ।
दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानको आयोजना तथा सेभ द चिल्ड्रेनको संयोजनमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सबैमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनका लागि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सबै सरोकारवाला निकायहरुले हालेमालो गरेर काम गर्नुपर्ने बताएका छन।जिल्लाका सबै नगर तथा गाउँपालिकाहरुका स्वास्थ्य संयोजक र सह संयोजकहरुका लागि केन्द्रित गरीएको कार्यक्रममा, जिल्ला अस्पताल, सेभ द चिल्ड्रेन, हेल्थ फर लाइफ, सुआहारा लगायतका सम्बन्धित सरोकारवाला निकायहरुको सहभागिता थियो । कार्यक्रमको सहजीकरण गर्नुभएका जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले सबै जसो देशहरु यु. एच.सीतर्फ अग्रगमन गरिरहेका बेला तिनीहरुले सबैभन्दा पहिले हरेक परिवार तथा समुदायलाई चाहिने अत्यावश्यक सेवाको विश्वव्यापी पहुँच सुनिश्चितताको लागि ध्यान केन्द्रित गर्नुपर्ने भन्दै बिशेष गरी रोकथाम गर्न सकिने सबैखाले मातृ मृत्यू, नवजात शिशुको मृत्यू तथा बाल मृत्यूको अन्त्यका लागि यु.एच.सीको आवश्यकता रहेको बताए।
साथै उनले स्वास्थ्य संस्थामा गर्भ जाँचका लागि आउने महिलाहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालयको पहलमा एकैखाले निमन्त्रणा तथा प्रतिबद्धता कार्ड र स्वास्थ्य संस्थामा जन्मने बच्चाको लागि बर्थ सर्टिफिकेट कार्ड वितरण गर्न थालिएको बताउनु भयो। उनले भने, ‘सबै गर्भवती महिलालाई नियमित गर्भ जाँचको लागि स्वास्थ्य संस्थामा उनीहरुको पहुँच वृद्धि गर्न र भविष्यमा पनि बच्चाको जन्मदर्ता गर्नका लागि सहजहोस भन्ने उद्देश्यले कार्ड वितरण गर्न सुरु गरिएको हो। साथै हामीले यो वर्षदेखि यो दिवसलाई अलि फरक ढंगले मनाएर बिशेष गरी दुर्गम बस्ती परिचालन गरी त्यस्ता ठाउँमा स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्ने योजना बनाएका छौं ।’
पछिल्लो समय नेपालले पनि आम सुरक्षा कार्यक्रम, अत्यावश्यक औषधिको निःशुल्क वितरण जस्ता कार्यक्रम मार्फत स्वास्थ्य सुचकहरुमा राम्रो प्रगती गरेको पाइन्छ । हालै नेपालमा देशका नागरिकहरुलाई वित्तिय भार विना नै स्वास्थ्यमा सर्वव्यापी पहुँच प्रदान गर्नका लागि निःशुल्क नवजात शिशु कार्यक्रम तथा सामाजिक स्वास्थ्य बिमा योजना लागु गरिएको छ ।
दिवसको अवसर पारेर लुङको बाहाने सामुदायिक स्वास्थ्य इकाइ र पुजा सामुदायिक स्वास्थ्य इकाइमा सुरक्षित प्रसुती सेवा प्रदान गर्नका लागि बर्थिङ सेन्टर स्थापना गर्ने समेत निर्णय गरिएको सुवेदीले जानकारी दिए।