धनगढी– कार्तिक १५ मा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको नेतृत्वमा अस्पतालमा छड्के अनुगमन भयो। टोलीले चार दर्जन सरकारी कार्यालयमा अनुगमन गरेको थियो। अनुगमन गरिएकामध्ये सेती अञ्चल अस्पतालमा धेरै कर्मचारी अनुपस्थि पाइएको थियो। प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘दुई हप्ताको हाजिर हेरेका थियौं। सो अवधिमा सेती अञ्चल अस्पतालमा मात्र ८१ जना कर्मचारी अनुपस्थित भेटाइयो।’ अस्पताल जस्तो संवेदनशील ठाउँका कर्मचारी नै अनुपस्थित हुनुले अस्पतालको सेवाप्रति गम्भिर प्रश्न उठेको छ।
अस्पतालमा धेरै कर्मचारी उपस्थित नहुनु र त्यसबारे कार्यालय प्रमुखलाई कुनै जानकारी नदिनुले अस्पतालमा कर्मचारीको मनोमानी र बेथिति देखिएको प्रजिअ रिजाल बताउँछन्। अस्पताल प्रमुख डा सजन केसीले पनि केही कर्मचारी अनुपस्थित हुने गरेको स्वीकारेका छन्। यसले गर्दा उपचार सेवामा समस्या आइरहेको उनी बताउँछन्।
सेती अञ्चल अस्पतालको प्रशासनमा कार्यरत एक कर्मचारी भन्छन्, ‘को कति बेला आउँछन्, हाजिर लगाउँछन् र जान्छन् थाहा हुँदैन। कसैले भनेको कसैले मान्दैनन्।’
ड्युटी भएका बेला स्वास्थ्यकर्मी नभेटिएर खोज्दै जानुपर्ने गरेको बिरामीका आफन्तले समेत पटक–पटक गुनासो गरेका छन्। धनगढीको क्याम्पस रोड बस्ने गंगा शाहले भनिन्, ‘बिरामीको सहयोगीका रुपमा अस्पतालमा जाँदा स्वास्थ्यकर्मी र चिकित्सक तोकिएको फाँटमा निकै कम भेटिन्छन्। आफैंले खोज्दै हिँड्नुपर्छ।’
अस्पतालमा कार्यरत सबै चिकित्सक निजी अस्पतालहरुमा काम गर्छन्। त्यसले गर्दा पनि अस्पतालको सेवा गुणस्तरीय हुन सकेको छैन। अस्पतालमा सरकारी दरबन्दी, करार दरबन्दी, अस्पताल विकास समितिका गरी सातौं तहदेखि ११औं तहसम्मका ४६ चिकित्सक कार्यरत छन्। ती सबैले निजी अस्पताल र क्लिनिकमा काम गर्ने गरेका छन्। नाम नखुलाउने शर्तमा अस्पतालमा कार्यरत एक कर्मचारीले भने, ‘निजी मेडिकलमा बिरामी कसरी पठाउने भन्ने चिन्ता हुन्छ। अस्पतालमा उपचारबारे के मतलब?’ अस्पतालमा ल्याब भए पनि प्रायः ल्याब टेस्टका लागि बाहिर पठाइने गरिएको बिरामीको गुनासो छ।
अस्पतालमा स्थायी सरकारी दरबन्दीमा आठौं तहदेखि ११औं तहसम्म १५ विशेषज्ञ चिकित्सक छन्। निमित्त मेडिकल सुपरिटेन्डेन्ट लगायत सबै बाहिर निजी क्लिनिक, अस्पतालमा काम गर्छन्। दिउँसो अस्पतालमा बिरामी चेकजाँच गरे पनि उपचारका लागि भने आफू काम गर्ने क्लिनिकमा पठाउने गरेको पाइएको छ। अस्पतालमा ११औं तहका चिकित्सक मेडिकल सुपरिन्टेन्डेन्ट हुनुपर्ने प्रावधान छ। तर, अहिले नवौं तहका डा केसी निमित्त प्रमुख छन्। उनीभन्दा माथि ११औं तहका तीनजना चिकित्सक छन्। जसले गर्दा निमित्त मेडिकल सुपरिन्टेन्डेन्टले भनेका कुरा नटेर्ने गरेकाले स्वास्थ्यकर्मी र कर्मचारीमा मनोमानी बढ्दै गएको छ। जुनियर तहको व्यक्ति मेडिकल सुपेरिटेन्डेन्ट भएपछि केही मात्रामा असहयोगको अवस्था पनि देखिएको छ।
प्रदेश नम्बर ७ को सबैभन्दा ठ्ूलो सेती अञ्चल अस्पताल व्यवस्थापनको अक्षमताका कारण अस्तब्यस्त हुँदा बिरामी मर्कामा परेका छन्। कर्मचारी अभाव, कमजोर व्यवस्थापन, भौतिक पूर्वाधार अभाव, फोहोर व्यवस्थापन र औषधि अभाव जस्ता कारणले अस्पताल लथालिंग बन्दै गएको स्थानीय कैलाश जोशीले बताए।
यो प्रदेशका ९ वटै जिल्लाबाट बिरामी रिफर र उपचारका लागि आउने भएकाले अस्पतालमा बिरामीको चाप निकै हुने गरेको छ। मेडिकल रेकर्डर अधिकृत तथा सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार दैनिक ओपिडीमा २ सय ५०, इर्मेजेन्सीमा २ सय २५, शल्यक्रियमा ५ देखि १० जना बिरामी आउँछन्। महिनामा २ हजार बिरामी अस्पतालमा भर्ना हुने गरेका छन्। बिरामीको चाप बढी भएकाले त्यस अनुसार व्यवस्थापन गर्न नसकेको श्रेष्ठ स्वीकार्छन्। अर्को समस्या छ, दरबन्दी अनुसार चिकित्सक नहुँदा उपचारमा आउने कठिनाइ।
सेती अञ्चल अस्पतालमा ५० शय्या नेपाल सरकारले स्वीकृत दिएको छ भने थप ७५ शय्या अस्पताल विकास समितिले सञ्चालन गरेको छ। चलाउने अनुमति १ सय २५ शय्या भए पनि बिरामीको चाप बढेपछि हाल २ सय २५ शय्या सञ्चालनमा।
‘अस्पताललाई ३ सय शय्यामा अपग्रेड गर्न अस्पताल विकास समितिले सरकारसँग अनुमतिका लागि माग गरिसकेको छ, अब चाँडै हुन्छ,’ सूचना अधिकारी श्रेष्ठ भन्छन्।
अस्पताल अस्तब्यस्त हुनुमा मेडिकल सुपरिटेन्डेन्ट फेरिइरहनु पनि एउटा कारण हो। सेती अञ्चाल अस्पतालमा २०७२ पुसदेखि हालसम्म ४ जना मेडिकल सुपरिटेन्डेन्ट फेरबदल भइसकेका छन्। २०७२ पुस ६ देखि २०७३ वैशाख २६ सम्म डा विशन सिंह बोहरा, ०७३ वैशाख २७ देखि ०७३ मंसिर २१ सम्म डा सूर्यबहादुर गुरुङ, ०७३ मंसिर २२ देखि ०७४ साउन ३ सम्म डा. अशोक श्रीपाइली र ०७४ साउन ४ देखि डा सजन केसीले अस्पतालको जिम्मेवारी सम्हालेका छन्।
मेडिकल सुपरिटेन्डेन्ट सरुवा भइरहने र कोही बस्न नमान्ने गरेका कारण अस्पताल व्यवस्थापनमा समस्या भएको प्रशासन फाँटका सुब्बा ललितबहादुर पन्त बताउँछन्। अस्पताल विकास समितिकी अध्यक्ष रिता भण्डारी बम पनि व्यवस्थापनमा कमजोरी रहेको स्वीकार गर्छिन्।
फोहोर फाल्ने डम्पिङ अस्पताल
सेती अञ्चल अस्पताल छेउमा रहेको अस्पतालको मात्रै फोहोर फाल्ने ठाउँ बजारकै फोहोर फाल्ने डम्पिङ साइटका रुपमा परिणत भएको छ। वैशाखबाट अस्पतालको फोहोर उठ्न नसकेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा केसीले बताए। ‘अस्पतालबाट निस्किने फोहोर पछाडि जम्मा गरेका छौं। नगरपालिकाले उठाउन मानेको छैन। खुला ठाउँ भएकाले अस्पतालको मात्र नभई बजार क्षेत्रबाट समेत फोहोर फाल्न ल्याउँछन्,’ उनले भने। अस्पताल नजिकै डम्पिङ साइट हुँदा उपचारमा आउने बिरामीले हैरानी खेप्नुपरेको फुलवारीका रामु चौधरीले बताए।
शवगृह वरिपरि पूरै अस्पताल र बजारबाट निस्कने फोहोरले गर्दा पोस्टमार्टम गर्न निकै समस्या भएको चिकित्सक बताउँछन्। अस्पतालको फोहोर व्यवस्थापन नहुँदा बिरामीको साथमा आएका स्वस्थ व्यक्ति पनि बिरामी भएर जाने गरेको बिरामीका कुरुवा धनगढी उपमहानगरपालिका २ का केशव रोकायाले बताए। अस्पताल वरपर रहेका कार्यालयमा पनि फोहोरले समस्या सिर्जना गरेको छ। नाक थुनेर नजिक आउन नसकेको अस्पताल नजिकै रहेको मालपोत कार्यालयमा सेवा लिन आएका रमेश चौधरीले बताए।
अव्यवस्थित प्रयोगशाला
सेती अञ्चल अस्पतालमा दैनिक २ सयभन्दा बढी बिरामीको ल्याब परीक्षण गर्नुपर्ने हुन्छ। ल्याब परीक्षण गर्ने ठाउँ अव्यवस्थित र दुर्गन्धित छ। प्रयोगशाला सञ्चालन भएको छेउमै दूषित ढल र शौचालयको सेफ्टी ट्यांकीबाट फोहोर बगिरहेको हुन्छ। ‘नाक छोपेर ल्याब परीक्षण गरिरहेका छौं, धेरै दिन व्यवस्थापन गरिदिन आग्रह गर्दा पनि वास्ता गरेका छैनन्। दुर्गन्धित कोठामा ल्याब सेवा चलाउँदै आएका छौं,’ ल्याब टेक्निसियन दिपक जोशीले भने, ‘एकातिर दुर्गन्ध, अर्कोतिर कोठा अभावले ल्याब परीक्षण गर्न निकै सास्ती छ।’
रोगको निदानका लागि ल्याब रिपोर्ट सही आउनुपर्छ। तर, ल्याबमा गुणस्तरीय उपकरण नभएको ल्याबमै कार्यरत स्वास्थ्यकर्मी बताउँछन्। ‘पटक–पटक सामान अभाव हुन्छ, जति आग्रह गरे पनि पाउँदैनौं।
जति सुविधा छ त्यही अनुसार सेवा दिने गरेका छौं,’ एक कर्मचारीले भने। बिरामीबाट रगत, खकार, दिशा–पिसाब लिँदा र चेकजाँच गर्दा हातमा पञ्जा लगाउनुपर्ने हुन्छ, तर सामान्य पञ्जा समेत व्यवस्थापन नहुँदा नांगो हातले चेकजाँच हुने गरेको छ।
औषधि अभाव
सेती अञ्चल अस्पतालमा औषधिको अभाव पनि अर्को समस्या हो। सरकारले १ हजारभन्दा बढी प्रकारका औषधि सेवाग्राहीलाई शुलभ मूल्यमा उपलब्ध गराउन देशका सबै अस्पतालमा फार्मेसी स्थापना गरेको थियो। तर, सेती अञ्चल अस्पतालमा साउन महिनादेखि नै औषधि टेन्डर प्रक्रियामा विवाद आएपछि अहिले फार्मेसीमा औषधि अभाव भएको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा केसी बताउँछन्।
‘औषधि खरिदका लागि ४ करोड रुपैयाँको टेन्डर आह्वान गरेका थियौं, प्रक्रिया नमिलेको भन्दै स्वाथ्य मन्त्रालयले रोकेका कारण औषधि किन्न नपाउँदा अभाव देखिएको छ। अहिले टेन्डर प्रक्रिया छानबिनमा रहेकाले केही समय लाग्ने हुन्छ,’ उनले भने।
सुलभ मूल्यमा औषधि दिने फार्मेसीमा औषधि नपाएपछि बिरामी महँगो मूल्य तिरेर निजी मेडिकलबाट औषधि किन्न वाध्य छन्।
अस्पतालमा निःशुल्क दिने भनिएका औषधि पनि अभाव रहेको अस्पतालका स्टोरकिपर जितबहादुर शाहले बताए। ‘अस्पतालको निःशुल्क औषधि पनि फार्मेसीबाट किन्ने निर्णय गर्यौं, फार्मेसीको टेन्डर प्रक्रिया छानबिनमा भएकाले औषधिको अभाव छ,’ उनी भन्छन्, ‘अहिले जेनतेन गरेर चलाएका छौं।’ उपचारका लागि अस्पतालमा पुगेकी धनगढी बस्ने चन्द्रकला शाहले भनिन्, ‘पहिले आउँदा अस्पतालबाटै पाएको औषधि पनि अहिले त किन्नुपर्यो।’
अस्पताल विकास समिति कि अध्यक्ष रिता भण्डारी बमले पनि टेन्डर प्रक्रिया रोकिएका कारण औषधि अभाव भएको बताइन्। उनले भनिन्, ‘एक वर्षका लागि सम्झौता गरेको ठेकेदारले धोका दिएपछि साउनदेखि नै औषधिको समस्या छ।’
जनशक्ति र पूर्वाधारको हालत उस्तै
५० शय्या नेपाल सरकार र ७५ शय्या विकास समितिबाट सञ्चालन गर्ने अनुमति पाएको अस्पताल २ सय २५ शय्यामा सञ्चालित छ। तर, भवन अभाव र चिकित्सकको कमीले उपचारमा समस्या छ।
‘बिरामी कम भएका बेला केही हुन्न, बिरामीको चापका बेला भने भुइँमा राखेर समेत उपचार गर्नुपरेको छ,’ नर्सिङ वार्डकी इन्चार्ज सुनिता खत्रीले भनिन्। भवन जिर्ण भएकाले वर्षातमा चुहिने र डुवान पर्ने गरेको उनी बताउँछिन्।
सरकारले ५० शय्या अनुसार चिकित्सकको दरबन्दी दिएको छ। तर, अस्पताल २ सय २५ शय्यामा सञ्चालनमा छ। ५० शय्या अनुसार स्वीकृत दरबन्दीमा पनि चिकित्सक नहुँदा उपचारमा कठिनाइ परिरहेको निमित्त मेसु डा. केसी बताउँछन्। ३२ जना सरकारी चिकित्सकको दरबन्दी रहेको अस्पतालमा १७ पद रिक्त छ। प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टदेखि ११औं तहका ३ जना चिकित्सकको दरबन्दी खाली छ।
अस्पतालमा २ जना बालरोग विशेषज्ञको दरबन्दी रहेकोमा दुवै पद रिक्त छ। जसले गर्दा उपचारमा समस्या हुँदैन आएको अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष रिता भण्डारी बमले बताइन्। उनका अनुसार सरकारले २०४३ सालदेखि अस्पतालको स्तरोन्नति गर्न सकेको छैन।