बाबियाचौर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारका बासिन्दाले स्वास्थ्य चौकीलाई १० लाखभन्दा बढी मूल्य पर्ने जग्गा उपलब्ध गराएका छन्।
साँघुरो कोठाबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि स्थानीयवासीले दान र आर्थिक सहयोग जुटाएर जग्गाको व्यवस्था गरेका हुन्।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ठगराज बरुवालले बुबा अमरबहादुरको नाममा १ रोपनी र स्थानीय गोविन्द खड्काले ८ आना जग्गा निःशुल्क उपलब्ध गराए।
यसैगरी, स्थानीयस्तरमा ८ लाख रुपैयाँ जुटाएर २ रोपनी ९ आना जग्गा खरिद गरी स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको अध्यक्ष बरुवालले जानकारी दिएका छन्। घारको निमरुख भन्ने ठाउँमा स्थानीयले उपलब्ध गराएको ४ रोपनी १ आना क्षेत्रफल जग्गामा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण कार्य सुरु भएको छ।
सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्कामार्फत स्वास्थ्य चौकीको भवन निर्माण थालेको हो। १५ शय्या क्षमताको दुईतले भवन निर्माणका लागि १ करोड ५६ लाखको इस्टिमेट गरिएको छ। २०७५ जेठभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ। हाल घारस्थित गाउँ संरक्षण व्यवस्थापन समितिले उपलब्ध गराएको एउटा कोठाबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ।