पोखरा– पर्वतको कुश्मा नगरपालिका १२ ठुलीपोखरीस्थित प्राथामिक स्वास्थ्य केन्द्रको हाताभित्र एकदिने निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सम्पन्न भएको छ। शिविरमा ३ सय ७० जनाले सेवा लिएका छन्। शिविर लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाइटीको आयोजनामा भएको थियो।
हिमालय आँखा अस्पताल पोखरा र प्राथामिक स्वास्थ्य केन्द्र ठुलीपोखरी पर्वतको प्राविधिक सहयोगमा सञ्चालित शिबिरमा विभिन्न रोगका बिरामीले जाँच गराएका थिए। जसमध्ये १ सय ९० जना आँखा र बाँकी १ सय ८० जनाको सामान्य स्वास्थ्य जाँच गरिएको दृष्टि विशेषज्ञ अनिल चौधरीले बताए। क्लबले बिरामीका लागि आवश्यक पर्ने सम्पूर्ण औषधि र चस्मा निःशुल्क प्रदान गरेको थियो।
शिविरमा आएका मध्ये ४ जनामा मोतियाबिन्दु देखिएको डा चौधरीले बताए। जनरल स्वास्थ्य जाँचतर्फ ग्यास्ट्रिक, प्रेसर, बाथरोग, निमोनिया, रुघाखोकी, ज्वरो, ढाड कम्मर दुख्ने लगायतका समस्या पाइएको डा विवेक भण्डारीले बताए।