काठमाडौं-
आँखाको भाका बुझेर आऊ सुस्तरी सुस्तरी
मधुर गीत गजल गाऊ सुस्तरी सुस्तरी…
दर्शकले भरिएको हलमा एकनास ताली बजिरहेका छ। गजलमा भनिएझैँ वातावरण एकाग्रमा सुस्तरीसुस्तरी सुस्ताइरहेको छ। लाग्छ दर्शक स्वासको आवाज पनि निकाल्न तयार छैनन्।
जमलस्थित नाचघर साहित्यको सरगममा यसरी नै रङ्मङिइहेको थियो शनिबार।
सेतो एप्रोन लगाएर अस्पतालका बहिरंग र शल्यकक्ष कक्षमा बिरामीसँग उनका समस्या बुझ्दै गरेका भेटिने चिकित्सक भने अलग्गै रङमा भेटिए। तिनका साथमा न त बिरामी थिए, न त त्यहाँ कुनै शिविर चलिरहेको थियो।
चिकित्सा शिक्षा र सेवालाई सहज रुपमा ३ करोड नेपालीको पहुँचमा पुर्याउनुपर्छ, जनताका छोराछोरीले सजिलै सस्ता–सुलभ रुपमा चिकित्सक बन्न पाउनुपर्छ भन्दै १३औँ पटकसम्म अनशन बसेका प्राडा गोविन्द केसी पनि छुट्टै उत्साहमा देखिन्थे।

उनी मात्र होइन, हातमा सिरिन्ज र चिरफारका बन्दोबस्तीका सामानसहित गंगालालको शल्यकक्षमा हुने डा रामेश कोइराला, डा रवीन्द्र समिर, स्वास्थ्यका भाषालाई जनताले बुझ्नुपर्छ भन्दै सञ्चारमाध्यमबाट वकालत गर्ने डा सुवास प्याकुरेल लगायतको चिकित्सा शिक्षा पढ्दै गरेका विद्यार्थी लगायतको समूह नाचघरमा साहित्यिक माहोल बनाउन व्यस्त थियो।
सन्दर्भ थियो, मेडिकल लिटरेचर मेला २०१७। उपस्थित चिकित्सक कुनै चिकित्सकीय सेमिनारमा नभएर छुट्टै विधा साहित्यको विधामा आफ्ना अन्तरमुखी प्रतिभा, सिर्जना सुनाउन र सुन्न आएका थिए। सधैं राजनीतिक दल र मेडिकल माफियालाई गाली गर्दै अनसन बसिरहने डा केसी आफ्नै कथा सुनाउन व्यस्त थिए।
देशका साबिकका ७५ जिल्ला कम्तीमा तेहराई पुगेको भन्दै केसी उपचार सेवाकै लागि आफूलाई विभिन्न ठाउँमा पुग्दै गर्दा हरेक स्मृति क्यामेरामा कैद गर्न मन लाग्ने रुचिका बारेमा सुनाइरहेका थिए। देशभित्र र बाहिर हाइटी, पास्कितान, भारत लगायतका विभिन्न देशमा विपत्तिका समय पुगेर बिरामीलाई उपचार गर्ने क्रममा लिइएका तस्बिर हेर्दा दर्शकलाई त्यही ठाउँमा पुगेको भान हुन्थ्यो।
चिकित्सक र सहित्यको सम्मिश्रण कति लोभलाग्दो छ भन्ने बुझ्न जनस्वास्थ्य एक दर्जनभन्दा बढी साहित्य कृति प्रकाशन गरिसकेका डा रवीन्द्र समीरका लधुकथा सुने पुग्छ।

अलिअलि व्यंग्य तर छोटो र थोरै शब्दमा चाहेको सन्देश सजिलै पाठकसम्म पुर्याउन खप्पिस डा समीरले चिकित्कीय पेसाका क्रममा भइरहने गतिविधिलाई लघुकथामा समेटे।
चिकित्सकीय व्यस्तताका बीचबाट सुटुक्क समय निकालेर दुई पुस्तक निकालिसकेका मुटुरोग विशेषज्ञ तथा सर्जन डा रामेश कोइरालाले साहित्य लेखनमा चिकित्सा पेसा साधक कि बाधक भनेर आफ्ना अनुभव साट्दै गर्दा लाग्यो अस्पताल त साहित्यका लागि कथाको भण्डार पो रहेछ।
चिकित्सकीय सेवामा आउन पढ्दै गरेका चिकित्सकका विद्यार्थीलाई उनी भन्दै थिए, 'बुझ्न र देख्न सकेमा अस्पतालमा जति लेखनका लागि विषयवस्तु र कथा अन्यत्र भेटिन्न, यति हो त्यसलाई हामीले साहित्यमा ढाल्न सक्नुपर्छ।'
आयोजकमध्येका एक चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका एमबिबिएसका विद्यार्थी विशद दाहाल चिकित्सकले समाउने कलमले औषधिको नाम मात्र नभई साहित्यका शब्दलाई कृतिमा समेत उतार्न सक्ने बताइरहेका थिए।

डा सरोज धितालले पनि कला र साहित्यका बारेमा बताइरहँदा चिकित्सकहरु पाठ्यपुस्तकमा मात्र होइन, साहित्य विधामा बेजोड दखलबारे आँकलन गर्न सकिन्थ्यो। साहित्यकार दुर्गममा रहेर त्यहाँको कुरीतिलाई चिर्नसमेत लागिपर्ने नर्स राधा पौडेल, सुलोचना मानन्धरका कविताले साहित्यको गहिराइमा पुर्याएको थियो।
रामेछापबाट अाएर डा सुमन ताम्राकारले अाफ्नाे कविता सुनाए । उनले कविता सुनाउँदै गर्दा अायाेजककाे प्रवृत्तिमाथि व्यंग्य कसे, 'रामेछापलार्इ पनि नेपाल नै सम्झिनुभएकाेमा धन्यवाद ।'
सधैं मेडिकल शिक्षाका विकृतिविरुद्ध कडा रुपमा प्रस्तुत हुने डा जीवन क्षेत्रीले मेलामा समधुर बाँसुरीकाे धुन सुनाए । यसैगरी एउटा हिन्दी गजल समेत गाएर उनले कला देखाए ।
नाचघरका प्रबन्ध निर्देशक राजेश थापाले चिकित्सकको साहित्य सिर्जनाले नयाँ अनुभव भएको भन्दै आगामी दिन चिकित्सकका साहित्य कार्यक्रमका लागि निशुल्क हल उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
दिनभर समाचार कक्षको डेस्कमा बसेर चिकित्सकका लेख, स्वास्थ्यकै समाचार प्रवाह गर्न व्यस्त स्वास्थ्यखबर पत्रिकाका डेस्क सम्पादक तथा गजलकार जनक पौड्यालले समेत समय निकालेर गजल सुनाउन भ्याए। चिकित्सकका बीच आफ्ना गजल गाउँदै गर्दा नौलो अनुभव भएको उनको प्रतिक्रिया थियो।
साहित्यमा रुची राख्ने मेडिकल विद्यार्थीकाे समूह हाम्राे कथाद्वारा अायाेजित मेला राष्ट्रिय नाचघर र एशियसन फर्मास्युटिकल्सकाे सहयाेगमा सम्पन्न भएकाे थियाे ।
बिट मार्नुअघि उनले गजल गाए-
आँधीबीच एक्लो हुँदा नाउँ जिन्दगीको
नदुखेको कसको छ र घाउ जिन्दगीको
समयले देखाउँछ हिँड्नुपर्ने बाटो
नियतिले चालिदिन्छ पाउ जिन्दगीको।