किरण पाण्डेले औषधि पसल थालेको १० वर्ष भयो। उनी जन्मनुअघि देखि नै पर्वत स्थित उनको घरमा औषधि पसल थियो। त्यसैले उनलाई नयाँ औषधि पसल सञ्चालनका लागि त्यति दुःख भएन।
घरका प्रायः सदस्य मेडिकल लाइमा थिए। ‘मैले थाहा पाउँदादेखि नै घरमा मेडिकल थियो, त्यसैले मेडिकल लाइनमै आफ्नो करियर बनाएँ।
सुरुमा उनले हेल्थ एसिटेन्स पढे। पर्वतका विभिन्न मेडिकल र सरकारी अस्पतालमा हेल्थ एसिटेन्स भएर २–३ वर्ष काम गरे। त्यसपछि उनी काठमाडौं आएर हेल्पिङ हेन्डमा हेल्थ एसिटेन्टकै जिम्मेवारीमा काम गर्न थाले। सँगसँगै सुरु भयो उनको मेडिकल फार्मेसीको दोकान। उनले आफ्नै लगानीमा ‘आरोन फर्मेसी’ खोलेर बसे। आफूसँग मेडिकल लाइसेन्स नभए पनि उनले केही वर्ष अरुकै लाइसेन्स लिएर फार्मसी चलाए। जब फर्मेसी पढेकाले मात्र फार्मेसी खोल्न पाउने नियम आयो, उनलाई पनि फार्मेसी पढ्नैपर्ने रहेछ भन्ने महसुस भयो। त्यसपछि उनले तीनबर्से फार्मेसी कोर्स पूरा गरेर लाइसन निकाले। अहिले भने उनी आफ्नै लाइसनले ढुक्कसँग औषधि पसल चलाइरहेका छन्।
३५ वर्षीय पाण्डेले फार्मेसी चलाएको १० वर्षको अवधिमा थुप्रै अनुभव बटुलेका छन्। आफू हेल्थ असिस्टेन्ट भएका नाताले डाक्टरको प्रेस्क्रिप्सनबिना औषधि किन्न आउनेहरुलाई सानोतिनो बिरामीको जाँच गरेर औषधि दिने गरेको बताउँछन्।
उनी पर्वतस्थित घरमा गएका बेला गाउँलेहरु काठमाडौंबाट डाक्टर आए भनेर घरमै लिन आउने गरेको उनको अनुभव छ। ज्वरो आएको, झाडापखाला लागेको जस्ता सामान्य बिरामीलाई उनले घरमै गएर औषधि दिने गर्छन्।
पाण्डे धेरै बिरामीले औषधि सेवान गर्दा डोज पूरा नगर्ने गरेको बताउँछन्। ‘एक–दुइटा औषधि दिनु न भन्दै माग्न आउँछन्,’ उनले भने, ‘डाक्टरले लेखिदिए जति औषधि पनि किन्न कन्जुस्याइँ गर्नेहरु धेरै हुन्छन्। त्यसमाथि एन्टिबायोटिकको डोज पूरा नगर्दा पछि थप समस्या आउँछ भन्ने धेरैलाई जानकारी नै छैन। १–२ दिन औषधि खाने अनि निको भएजस्तो भएमा डोज पूरा नगरी औषधि छोड्नेहरु धेरै हुन्छन्।’ यसरी डोज पूरा नगरी औषधि छाड्नेहरुलाई कसरी सिकाउने होला भन्ने उनलाई पिरलो लाग्छ।
उनी डाक्टरले लेखेकै औषधिको ब्रान्ड खोज्दै हिँड्ने बिरामी देखेर पनि आजित हुने गरेको बताउँछन्। भन्छन्, ‘औषधि भनेको ब्रान्डले मात्र चल्ने त होइन नि। तर डाक्टरले जुन ब्रान्डको औषधि लेख्यो त्यही ब्रान्डको औषधि चाहिन्छ भन्नेहरु धेरै छन्। कम्पनी फरक भयो भन्दैमा औषधिको गुण फरक पर्ने हुँदैन। यसबारे बिरामीलाई चेतना नपुगे जस्तो लाग्छ। जुन कम्पनीको औषधि भए पनि त्यसको कम्पोजिसन र फर्मुला एउटैले बनेको हुन्छ र त्यसको असर एउटै हुन्छ।’
कहिलेकाहीँ औषधि किन्न आउने ग्रहकसँग भनभन पर्ने गरेको सुनाउँछन् पाण्डे। खासगरी बिना प्रेस्क्रिप्सन औषधि लिन आउने र मोलमोलाइ गरेर औषधि किन्नेहरुसँग उनी आजित हुने गर्छन्। ‘अरु पसलमा २० प्रतिशत दिन्छ तपाईंले चाहिँ कनि नदिने? भन्दै बार्गेनिङ गर्छन्,’ उनले भने, ‘हामी औषधि पसलेलाई कम्पनीले १३ प्रतिशत मात्र दिने गरेका छन्। अरुले कुनै औषधिमा छुट दियो भन्दैमा जुनसुकै औषधिमा उति नै छुट हुँदैन।’
औषधि पसलमा कहिलेकाहीँ पैसा नै भएका मानिस पनि औषधि किन्न आउने गरेको सुनाउँछन् उनी। ‘त्यस्तो बेला स्यापल औषधि दिएर पठाउँछु। कुनै मान्छेले १ हजारको औषधि लगेर ५ सय दिन्छन् । ५ सय पछि दिन्छु अहिले छैन भन्छन् अनि के गर्नु दिनैपर्छ। कोही इमान्दार हुन्छन् फिर्ता गर्छन् कसैले गर्दैनन्।’
उनलाई औषधि पसल अरु पसलजस्तै जुनसुकै समयमा बन्द गर्न नमिल्ने भएकाले पनि कहिले काहीँ भने दिक्क लाग्छ। ‘आफूले मन लागेका बेला बन्द गर्न पाइँदैन,’ उनी भन्छन्, ‘घरपरिवारलाई समय दिने, घुमघाम गर्ने मौका पाइँदैन। यो फार्मेसी क्षेत्रमा दुःख चाहिँ गर्नुपर्छ। सेवा मूलक व्यवसाय भएकाले पनि अरु पसल जस्तो सटर तानेर बस्न मिल्दैन। मन मान्दैन।’