रसुवा– रसुवाको विकट सर्स्युङमा ‘गाउँघर क्लिनिक’ निर्माण गरिएको छ। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको नौकुण्ड गाउँपालिका–६ स्थित सर्स्युङमा गाउँघर क्लिनक निर्माण गरिएको हो।
क्लिनिक निर्माणका लागि स्थानीयबासी पूर्णबहादुर थोक्राले ४ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन्। सोही जग्गामा निर्माण भएको गाउँघर क्लिनिकको उद्घाटन भएपछि स्थानीयबासी खुसी भएका छन्। स्थानीय युवा अभियन्ता शैलेश लोप्चनले भने, ‘गाउँघर तेज फाउन्डेसनको करिब २५ लाखको लागतमा क्लिनिक निर्माण भएको हो।’
लोप्चनका अनुसार सर्स्युङमा स्वास्थ्य संस्था नहुँदा उपचारको अभावमा कतिले अकालमै ज्यान गुमाउनु परेको थियो।

स्वास्थ्यको पहुँचबाट टाढा रहेका गाउँलेलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन क्लिनिक निर्माण गरिएको गाउँघर तेज फाउन्डेसनका अध्यक्ष गोकुल थापाले बताए। ‘गाउँबाट स्वास्थ्य संस्था पुग्न करिब २ घन्टा लाग्ने गरेको र बाटोको असहजताका कारण सबैको पहुँच पुग्न नसकेको हुँदा हामीले क्लिनिक निर्माण गरेका हौं,’ उनले भने, ‘क्लिनिकमा आवश्यक सामग्रीका साथै औषधि उपलब्ध गराई सोमबार एक कार्यक्रमका बीच क्लिनिक हस्तान्तरण गरेका छौं।’