पोखरा– सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति जिल्ला कार्यालय कास्कीले पोखरा लेखनाथ महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रमको सुदृढीकरणका लागि दुईदिने अभिमुखीकरण तालिम सम्पन गरेको छ।
कार्यक्रममा सहभागीलाई स्वास्थ्य बीमा सम्बन्धी प्रावधान, प्रक्रिया र दर्ताको वर्तमान अवस्थाबारे जानकारी दिइएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले वर्तमान स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको गुणस्तर सुधार गरी महानगरबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन महानगर प्रतिबद्द रहेको बताए। स्वास्थ्य बीमा नेपाल सरकारले ल्याएको नयाँ कार्यक्रम भएको हुँदा यसलाई सफल बनाउन महानगरपालिकाले आवश्यक पहल गर्ने उनको भनाइ थियो।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीर्धनारायण पौडेल, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेल, वडा न १६ र २१ का वडा अध्यक्षहरुले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रमको सहजीकरण स्वास्थ्य बीमा कार्यक्रमबाट डा भुवन पौडेल, जिल्ला प्रवन्धक कृष्णप्रसाद भट्टराई र हेल्थ फर लाईफबाट सगुन पौडेलले गरेका थिए। कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाभित्र रहेका अर्मला र कृस्ती प्राथमिक स्वास्थ्य केन्द्रले समेट्ने वडाहरुबाट विभिन्न सरोकारवाला व्यक्तिको सहभागिता थियो।