इटहरी– इटहरी उपमहानगरपालिकाले आफू अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्यबीमा गरिदिएको छ। इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले संयुक्त रुपमा स्वयंसेविकाहरुलाई बीमाको परिचयपत्र वितरण गरेका हुन्।
इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र इटहरी र खनार, एकम्बा, पकली र हाँसपोसाका स्वास्थ्य चौकी अन्तर्गतका १ सय ३८ जना महिला स्वास्थ्य स्वंयमसेविकालाई उपमहानगरपालिकाले स्वास्थ्य बीमा गरिदिएको प्राथमिक स्वास्थ्य केन्द्र इटहरीका हेल्थ असिस्टेन्ट रामकुमार धमलाले बताए। स्वास्थ्य बीमा गरेपछि महिला स्वास्थ्य स्वयंसेविकाले वार्षिक ५० हजार रुपैयाँ बराबरको स्वास्थ्योपचार पाउनेछन्।
स्वास्थ्य बीमाको परिचयपत्र वितरण कार्यक्रमका वक्ताले उपमहानगरपालिकाले स्वयंसेविकालाई स्वास्थ्य बीमा गराइदिएर स्थानीय सरकारमध्ये नयाँ काम गरेको बताए।