काठमाडौं (रासस) – पशुपतिनाथ मन्दिर क्षेत्रमा अवस्थित वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई नियमित स्वास्थ्य उपचारमा कठिनाइ भएको छ ।
समाजकल्याण केन्द्र नामक वृद्धाश्रममा आश्रित १८६ ज्येष्ठ नागरिकको नियमित उपचारका लागि एक मात्र चिकित्साकर्मी भएकाले समस्या आएको हो । अहेव विमला सुवेदीले आश्रममा रहेका ६५ देखि १०१ वर्ष उमेरका नागरिकका लागि आफू एक्लैले सेवा गर्न भ्याइनभ्याइ हुने भएकाले गुणस्तरीय उपचार सेवा दिन समस्या परेको बताए। उन भने, ‘सय जना ज्येष्ठ नागरिकहरु दीर्घ रोगका बिरामी हुनुहुन्छ, अन्यलाई पनि स्वास्थ्यको समस्या परिरहन्छ, उहाँहरुलाई औषधि खुवाउने, रेखदेखलगायत काम गर्न एक जनाले भ्याउन कठिन भएकाले अन्य स्वास्थ्यकर्मीको पनि व्यवस्था हुनुपर्ने देखिन्छ ।’
उनले रात्रिकालीन हेरचाहका लागि हाल एक स्टाफ नर्स करारमा नियुक्त गरिए पनि पर्याप्त नभएको गुनासो गर्दै वृद्धवृद्धा विभिन्न समुदायका रहेको र विगतका व्यक्तिगत घटनाबाट विक्षिप्त भएकाले मनोवैज्ञानिक समस्यासमेत रहेको बताए।
नेपाल सरकारको एक मात्र सरकारी वृद्धाश्रमका रुपमा रहे पनि औषधि अभाव र थप उपचारका लागि निजी क्षेत्रसँग सहयोग माग्नुपर्ने अवस्था छ । उक्त आश्रममा देशका ४० जिल्लाका वृद्धवृद्धाले आश्रय लिइरहनुभएको छ । विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भवन निर्माणाधीन रहेकाले बसोबासका लागि समेत समस्या रहेको जनाइएको छ ।
–सुसन भट्टराई, प्रशिक्षार्थी पत्रकार