काठमाडौं- मानव स्वास्थ्यमा हानि पुर्याउने खनिज ‘एस्वेस्टस’को आयातमा सरकारले प्रतिबन्ध लगाए पनि बिक्री वितरण भइरहेको पाइएको छ।
निर्माण क्षेत्र, हार्डवेयर पसललगायत स्थानमा सो खनिज लुकीछिपी किनबेच भइरहेको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले जनाएको छ । प्राकृतिक रुपमा पाइने सो खनिजका रेशा बलिया एवं ताप आगो, खिया र रसायन प्रतिरोधी हुनाका साथै विद्युतीय कुचालक हुन्छ । सरकारले विसं २०७१ पुस ९ गते राजपत्रमा सूचना जारी गरी यसको आयातमा प्रतिबन्ध लगाएको थियो ।
केन्द्रले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले सोको आयातलाई पूर्णरुपमा रोक्न आपूर्ति मन्त्रालयले अनुगमनलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै एस्वेस्टसयुक्त फोहरलाई वातावरणमैत्री विसर्जन विधि प्रयोग गर्न र स्यानिटरी ल्याण्डफिल निर्माणका लागि लगानी बढाइने प्रतिबद्धता व्यक्त गरे।
आपूर्ति सचिव अनिलकुमार ठाकुरले अनुगमन संयन्त्रलाई सशक्त बनाउन स्थानीय तहमा जिम्मेवारी दिने तयारी भइरहेको जानकारी दिए। 11 संगठनका प्रतिनिधि राजाराम पोटे श्रेष्ठ, अन्तर्राष्ट्रिय श्रम संगठन, राष्ट्रिय कार्यक्रम संयोजक शैलेन्द्रकुमार झा, वातावरणविद् भूषण तुलाधरलगायतले सिलिकन र अक्सिजनको संयोजन रहेको एस्वेस्टसको रेशालाई नाङ्गो आँखाले देख्न नसकिने र श्वासप्रश्वासबाट फोक्सोमा गई अर्बुदजस्ता रोग लाग्न सक्ने बताए।
केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहले तराईमा धेरैजसो एस्वेस्टसले छाएका घर पाइने हुँदा त्यहाँ बस्ने मानिस बढी प्रभावित रहेको जानकारी दिए। रासस