रामपुर, पाल्पा- ‘बिहेबारी बीस वर्षपारि’ भने पनि यस जिल्लामा अझै उमेर नपुग्दै विवाह हुने क्रममा कमी आउन सकेको छैन। उमेर नपुग्दै अर्थात् किशोरावस्थामा नै विवाह गरेर घरजम गर्नेको संख्या अहिले पनि उत्तिकै छ।
किशोरकिशोरी विवाहलाई कम गर्न जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाले उनीहरुलाई लक्षित गरेर स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। २०६८ सालको जनगणनाअनुसार पाल्पामा अझै पनि ६० प्रतिशत किशोरकिशोरीहरु उमेर नपुग्दै वैवाहिक जीवनमा बाँधिन पुगेका छन्।
कतिपय रहरले त कति बाध्यताले वैवाहिक जीवनमा बाँधिने गरेको पाइन्छ। स्वास्थ्य कार्यालयले यस कार्यलाई कम गर्दै गरेर शून्यमा पुर्याउने लक्ष्यका साथ जिल्लाका माविस्तरीय ४१ सामुदायिक विद्यालयमा किशोर किशोरीका लागि स्वास्थ्य शिक्षा सञ्चालन गर्दै आइरहेको छ।
गाउँ र टोलटोलमा पुगेर आमा समूह, महिला समूहमा आबद्ध महिलाहरुलाई किशोरावस्थामा विवाह गरेपछि गर्भावस्थामा देखिने असरबारे बताउन थालिएको छ। शारीरिक तथा मानसिक असर, शैक्षिक क्षेत्रमा हुने असर, कम उमेरमा गर्भपतन, आमाको उमेर नपुग्दै जन्मेको बच्चामा कुपोषित हुने लगायत समस्याका बारेमा जनचेतना फैलाउने कार्यक्रम गर्दै आइरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए।
किशोरावस्थामा हुने विवाह न्यूनीकरण र महिनावारीका समयमा कक्षा छाड्ने किशोरीको दर कम गर्न स्वास्थ्य कार्यालयले यो कार्यक्रम ल्याएको हो।रासस