सिरहा- सिरहाको लहानमा क्यान्सर अस्पताल निर्माण गरिने भएको छ।
नेपाल अर्बुद निवारण संस्थाको २७औं केन्द्रीय सभाको उद्घाटन कार्यक्रममा क्यान्सर अस्पताल निर्माण गरिने सर्वपक्षीय सहमति भएको हो।
कार्यक्रममा लहान नगरपालिकाका मेयर मुनि साहले अस्पताल निर्माणका लागि नगरपालिकाका तर्फबाट जग्गा र व्यक्तिगत तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउने बताए। यस्तै, मुरारका ग्रुपका सञ्चालक तथा लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालका संस्थापक अशोक मुरारका तथा लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालका संस्थापक पदमनारायण चौधरीले अस्पताल निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
पूर्वाञ्चलमै क्यान्सर अस्पताल नहुँदा क्यान्सर उपचारका लागि चितवन वा काठमाडौं जानुपर्ने बाध्यता छ।
कार्यक्रममा बिनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले लहानमा क्यान्सर अस्पताल निर्माण गर्ने कुरा सकारात्मक भएको बताउँदै अस्पताल निर्माणका लागि म सक्दो सहयोग गर्ने वाचा गरेका थिए।
लहानमा क्यान्सर अस्पताल निर्माण हुने कुराले हौसिएका उद्योगी र समाजसेवीले नेपाल अर्बुद निवारण संस्था सिरहालाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए। अस्पताल निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गर्ने उद्योगी राजेन्द्र मुरारका र समाजसेवी मनीष उप्रेतीलाई संस्थाको सदस्यता समेत प्रदान गरिएको थियो। रासस