मंगलबारे, इलाम- इलाम सदरमुकाममा शुरु भएको मोतियाबिन्दु भएकाका लागि निःशुल्क शल्यक्रिया शिविरमा पहिलो दिन २५ जनाको शल्यक्रिया भएको छ।
नेपाल नेत्रज्योति संघ इलामको आयोजना तथा विराटनगर आँखा अस्पतालको सहयोगमा तीन दिनसम्म सञ्चालन हुने शिविरमा २०० भन्दा बढीको निःशुल्क आँखा जाँच भएको हो ।
तीन दिनसम्म सञ्चालन हुने शिविरमा जिल्लाका सात स्थानबाट छनोट भई आएका मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गरिने नेत्रज्योति संघका सचिव विष्णु कार्कीले जानकारी दिए।
जिल्लाका सोयाक, शान्तिडाँडा, शाखेजुङ, पुवामझुवा, वरबोटे र सुम्बेकमा आँखा परीक्षण तथा निःशुल्क शिविर सञ्चालन गरी मोतियाबिन्दु भएकाको छनोट गरिएको संघका सचिव विष्णु कार्कीले जानकारी दिए।
शिविरमा विराटनगर आँखा अस्पतालका डाक्टर मनिष पाण्डे नेतृत्वका डाक्टरहरुले शल्यक्रिया गरिरहनुभएको छ । शिविरमा १०० भन्दा बढीको शल्यक्रिया गर्ने लक्ष लिइएको छ।
शिविरबाट समेत मोतियाबिन्दु भएका बिरामी छनोट गरी शल्यक्रिया गरिने सहसचिव प्रकाश भट्टराईले जानकारी दिए। सदरमुकामको शिविर सम्पन्न भएपछि जिल्लाको पूर्वी क्षेत्र सूर्योदय नगरपालिकामा समेत शिविर आयोजना गरिने सहसचिव भट्टराईले बताए।
उमेर बढेसँगै मानिसमा मोतियाबिन्दु हुने डाक्टर पाण्डेले बताए। उनले मोतियाबिन्दुको निश्चित औषधिसमेत नभएको बताउँदै उत्तम विकल्प भनेको शल्यक्रिया नै भएको जानकारी दिए। रासस