दमौली, तनहुँ- क्यान्सरबाट पीडित तनहुँका एक शिक्षकलाई उपचारमा सहयोग पुर्याउन मंगलबार ५२ हजारको चेक हस्तान्तरण गरिएको छ।
शिक्षक कल्याणकारी कोषबाट क्यान्सरबाट पीडित महेन्द्र मावि, राईपुरका शिक्षक हरिप्रसाद पोखरेललाई सो रकमको चेक हस्तान्तरण गरिएको हो।
जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारी र नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेलले क्यान्सरबाट पीडित शिक्षकको परिवारलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्।
शिक्षक पोख्रेल चार वर्षदेखि क्यान्सरबाट पीडित रहँदै आएका छन्। उपचारका लागि उनको आर्थिक अवस्थाले नभ्याएपछि शिक्षक कल्याणकारी कोषबाट रकम सहयोग गरिएको हो।
सो अवसरमा जिल्ला शिक्षा अधिकारी भण्डारीले शिक्षक कल्याणकारी कोष स्थापना भएपछि गरिब र रोगका कारण पीडित बनेका शिक्षकलाई उपचारमा राहत मिलेको बताए। कोषको स्थापना भएपछि बिरामी परेका शिक्षकलाई उपचारमा राहत मिल्दै गएकोे बताइएको छ। रासस