काठमाडौं– विश्व बायोइथिक्स दिवसका अवसर पारेर अक्टोवर १९ मा आयोजित विश्वव्यापी चार विधाका प्रतियोगीता मध्ये दुईमा नेपालका सहभागी प्रथम भएका छन् । यस वर्षको नारा ‘समानता, न्याय र समभाव’ शीर्षकमा सम्पन्न विश्व व्यापी रुपमा भएका आर्ट पोस्टर, अनुसन्धान पोस्टर, फिल्म, फोटो प्रतियोगिताहरुका लागि नेपाल बायोइथिक्स युनिटबाट सम्पन्न राष्ट्रियस्तरको कार्यक्रमबाट छानिएका प्रतियोगीहरुको पोस्टर, अनुसन्धान पोस्टर, फिल्म र फोटोको सहभागिता रहेको हो ।
धरानको वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न उक्त कार्यक्रमबाट छानिएर पठाइएका एमबीबीएसका विद्यार्थी सुमित शर्मा समूहको अनुसन्धान पोस्टर र बिडिएसका रमन ढुंगेलको आर्ट पोस्टर विश्वव्यापी प्रतियोगितामा पनि सर्वोत्कृष्ट भएको नेपाल एकाईका प्रमुख र कार्यक्रमका संयोजक डा. धनरत्न शाक्यले जानकारी दिए ।
अनुसन्धान पोस्टरमा मेंगलोर, पुने र रियो द जेनेरियाका सहभागीहरुको अनुसन्धान तथा आर्ट पोस्टर दोस्राे र तेस्राे भएको बताइएको छ । त्यस्तै, फोटोग्राफीमा इटाली र फिल्ममा कोल्हापुरको सहभागिता प्रथम भएको हो ।
यस वर्षको अवधारणाबारे विद्यार्थी, शिक्षक र सम्बन्धित सबै पक्षमा जानकारी दिन यी कार्यक्रमहरु फलदायी भएको डा शाक्यले बताए । यस वर्ष एकाइबाट आयोजित विविध कार्यक्रमहरुमा वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत अन्य मेडिकल कलेजहरुबाट पनि सहभागिता रहेको हो । कार्यक्रमका संयोजक डा. शाक्यले यसबाट नेपालमा बायोइथिक्सबारे छलफल, अध्ययन र मननका लागि यस्ता कार्यक्रम गरिँदै जाने बताए ।