रुकुम – रुकुम पश्चिममा पखालाको प्रकोप देखिएको छ । जिल्लाका विभिन्न ठाउँमा दैनिक बिरामी बढिरहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । हिजो बिहीबारसम्म जिल्ला अस्पताल सल्लेमा मात्र २५ जना पखालाका बिरामीले नियमित उपचार गराइरहेका छन्।
जिल्लामा अहिले दुई वर्षमुनिका बालबालिकामा पखालाले संक्रमण गरेको जिल्ला अस्पताल सल्लेका डा यज्ञप्रसाद विसीले जानकारी दिए। पखालाका कारण अहिलेसम्म कसैको मृत्यु भने भएको छैन।
जिल्ला अस्पताल र अन्य गाउँमा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव हुन थालेको छ । अहिले बिरामीले सरकारी स्वास्थ्य संस्थामा औषधि पाउन छोडेपछि निजी औषधि पसलबाट चर्को मूल्यमा औषधि किन्नुपर्ने बाध्यता रहेको छ। जिल्ला अस्पतालमा बिरामीको चाप निकै बढेपछि भुइँमा राखेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ। रासस