बैतडी- बैतडीको सुर्नया गाउँपालिका–५ मा स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीयवासीले जग्गा दान गरेका छन् । सुर्नया–५ को दीपखाली बस्ने ध्वजबहादुर बिष्टका छोरा भीमबहादुर बिष्ट र डम्मरबहादुर बिष्टले ६ रोपनी जग्गा दान गरेका हुन्।
लामो समयदेखि स्वास्थ्य चौकीका नाममा जमिन नहुँदा नयाँ भवन निर्माणका लागि कठीनाई भइरहेका बेला जग्गा प्राप्त भएपछि अब स्वास्थ्य चौकीको भवन निर्माणका लागि सहज हुने वडा नं ५ का वडाध्यक्ष केशवसिंह मडैले जानकारी दिए।
जग्गादाता बिष्ट परिवारलाई वडा कार्यालयका तर्फबाट धन्यवादसमेत ज्ञापन गरिएको छ । बिष्ट परिवारले स्वाथ्यचौकीका नाममा जग्गा नामसारी गरिसकेको जनाइएको छ । उक्त जमिनमा अब स्वास्थ्य चौकी भवन निर्माण कार्य थालिने भएको छ।
यसअघि पनि बैतडीका अधिकांश स्वास्थ्य चौकीका भवन निर्माणका लागि यहाँका स्थानीय बासिन्दाले जग्गादान गरेका छन्। रासस