राजविराज- दूधको गुणस्तर परीक्षण गर्ने विभिन्न प्रकारका वैज्ञानिक प्रविधिको विकास भए पनि परम्परागत प्रक्रिया छोड्न नसक्दा सप्तरी सदरमुकाम राजविराजमा वर्षौंदेखि दूषित दूधको बिक्रीवितरण हुँदै आएको छ। पानीको मात्र निरीक्षण गर्ने नाममा हात डुबाउने परम्पराको विकल्प नखोजिँदा यहाँको 'दूध हटिया'मा दूषित दूधको बिक्रीले निरन्तरता पाएको हो। जसका कारण विभिन्न रोगको सम्भावना देखिएको छ।
राजविराज नगरपालिका वडा नं ७ स्थित हटियामा वर्षौंदेखि यसैगरी हात डुबाएर दूधको परीक्षण गर्ने परम्परा छ। सबै ग्राहकले पालैपालो हात डुबाएर परीक्षण गर्दा दूधको शुद्धतासमेत नष्ट हुने गरेको व्यापारीहरु वताउँछन्। हात डुबाउन नदिए ग्राहकहरु उल्टै रिसाउने र आफनो दूध पनि बिक्री नुहने भएकोले उनीहरुको इच्छा अनुसार नै भाँडो जिम्मा लगाउने गरेको राजविराज १५ देउरी भरुवाकी दूध व्यापारी कोशिला देवी यादवले बताइन्। ‘दूधको भाँडो बिसाउन नभ्याई क्वाच्च हात डुबाउन थाल्छन्,’ यादवले भनिन्, ‘यो क्रम बिक्री नभएसम्म जारी रहन्छ।’
बालबच्चा, वृद्धवृद्धा, र बिरामीले समेत प्रयोग गर्ने दूधमा हात डुबाउँदा फोहोर हुने त छँदैछ। यसो नगर्न आग्रह गर्दा ग्राहकले अटेर गर्न थालेपछि वास्ता गर्न छोडेको अर्का व्यापारी जिवछीदेवी यादवले बताइन्। ‘दूध खाने ग्राहकले नै हो,’ उनी भन्छिन्, ‘भनेको नमानेपछि दूध फर्काएर लानुभन्दा चुपचाप हेरेर बस्छौं।’
दूध बिक्री हुँदासम्म सबैको हातको फोहोरले दूधको रङसमेत परिवर्तन हुने गरेको राजविराज ७ निवासी योगेन्द्र यादवले बताए। ‘हातको फोहोरले सेतो दूध रातो हुन थाल्छ, तर त्यतातिर कसैको ध्यान जाँदैन,’ उनी भन्छन्।
दूधमा पानीको मात्रा कम भए हातमा टाँसिएर बस्ने तथा पानीको मात्रा बढी भए बगेर जाने मान्यता उनीहरुमा छ। पानीको मात्र परीक्षण गर्ने प्रविधिको वैकल्पिक व्यवस्था नहुँदा शुद्ध दूधसमेत अशुद्ध बनाएर खानुपर्ने बाध्यता रहेको स्थानीय सन्तोष दास बताउँछन्।
सदरमुकाम राजविराज लगायत आसपासका नगरपालिका तथा गाउँपालिकाका जमनुनी मधेपुरा, मलेठ, फर्सैठ, वोरिया, रञ्जितपुर, वरही विरपुर, वेल्ही, देउरी भरुवा, विसहरीया, सिम्रहा सिंगियौन लगायतका दर्जनौं स्थानवाट राजविराज हटियामा ल्याएर दूध बिक्रीवितरण गरिन्छ। प्रत्येक दिन करिब २ हजार लिटर दूध अशुद्ध भएरै ग्राहकसम्म पुग्ने गरेको स्थानीय राजेश चौधरीले बताए।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतका अनुसार यसरी हात डुबाएर बिक्री हुने अशुद्ध दूधका कारण सरुवा रोग तथा हैजासम्म लाग्न सक्ने खतरा छ। तर, वर्षौंदेखि चल्दै आएको दूध परीक्षणको परम्परागत हात डुबाउने प्रक्रिया नियन्त्रण र परिवर्तन गर्नेतर्फ सम्बन्धित निकायले पहल नगरेको नागरिक सञ्चाल सप्तरीका अध्यक्ष सुखराम यादव बताउँछन्। ‘दूध परीक्षणका नाममा हात डुबाउने प्रक्रियाले रोग सर्छ,’ यादवले भने, 'यसबाट सर्वसाधारण नागरिकको स्वास्थ्यमा पर्ने नकारात्मक असरको लेखाजोखा कस्ले गर्ने?'
नापतौल तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक सुरेश सिंहले दूधको व्यवस्थित बजार र कलेक्सनका माध्यममार्फत दूध बिक्रीको व्यवस्था मिलाउन नसक्दा यस्ता समस्या देखिएको बताए। चिलिङ सेन्टर तथा कलेक्सन सेन्टरबाहेक हकरका माद्यमबाट आउने दूध परीक्षणमा आफूहरुलाई पनि समस्या हुने गरेको उनको भनाइ छ।
यस्तो प्रक्रिया रोक्न आफूहरुबाट पहल नभएको स्विकार्दै राजविराज नगरपालिकाका कार्यकारी अधिकृत उमेशकुमार यादवले माघको पहिलो हप्तादेखि बजार व्यवस्थापन र अशुद्ध दूध बिक्री नियन्त्रण गरिने बताए।
‘जनप्रतिनिधि नहुँदा हरेक क्षेत्र अस्तव्यस्त थियो,’ यादवले भने, ‘स्थानीय तह निर्वाचन मार्फत नगरपालिकाको सिंगो बडी तयार भएको छ। अब यो टिम हरेक समस्या समाधानका लागि द्रुत गतिमा काममा खट्नेछ।'