काठमाडौं– 'सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल' पीएसआरएनको विद्यार्थी च्याप्टर धरानले ओखलढुङ्गा जिल्लामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ। सबैका लागि स्वास्थ्य भन्ने सन्देशका साथ सञ्चालित उक्त शिविरमा जनरल फिजिसियन, बालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ र छाला तथा यौनरोग विशेषज्ञ सहितको १५ जनाको टोलीले निःशुल्क सेवाका साथै विभिन्न रोगका लागि औषधी वितरण गरेको थियो।
स्थानीय बासिन्दा नेत्रप्रसाद दाहाल र गाउँपालिका कार्यालयको संयोजनमा यस संस्थाले पौष ८ गते मोलुग गाउँपालिकामा अवस्थित गुरुकुल संस्कृत मा.वि. र पौष ९ गते सुनकोशी गाउँपालिकाको कुशादेवी मा.वि.मा गरी करिब आठ सयजनालाई विशेषज्ञ सेवा प्रदान गरेको थियो।
'विशेषज्ञ स्वास्थ्य सेवा लिन टाढाको सदरमुकाम जानुपर्ने र अझै थप गुणस्तरीय सेवा लिनका लागि काठमाडौँ वा धरान नै पुग्नुपर्ने बाध्यता रहेको यस ठाउँमा घरआँगनमै चेकजाँच र औषधी वितरणले गर्दा रोग पालेर बसेका बिरामीका लागि धेरै प्रभावकारी भएको छ,' एक स्थानीयले भने। शिविरमा संलग्न बालरोग विशेषज्ञ डा दीपक मोक्तान भन्छन्, 'चिसोको कारण रुघाखोकी, ज्वरोले ग्रसित बालबालिकाहरूको उपस्थिति धेरै पाएँ । साथसाथै सरसफाईमा पर्याप्त ध्यान नदिएर होला, छाला सम्बन्धी रोगहरू पनि निकै आएका थिए ।'
त्यस्तै स्त्रीरोग विशेषज्ञ डा. मनोज साह महिलामा यौनांग चिलाउने, सेतो पानी बग्ने, आङ खस्ने समस्याहरू निकै रहेको बताउँछन् । जनर फिजिसियन डा सन्तोष बास्तोला घुँडा दुख्ने, ढाड दुख्ने र अन्य नसा सम्बन्धी समस्या लिएर पिन धेरै स्थानीय आएको बताउँछन् ।
दक्ष चिकित्सकसम्मको पहुँच नपुगेको ठाउँमा सेवा दिने अफ्नो लक्ष्य रहको पीएसआरएनको अध्यक्ष संजय बराल बताउँछन् । शिविरमा भेटिएका अत्यन्त गरिब बिरामीका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा निःशुल्क उपचारको व्यवस्था पनि गरिएको उनले बताए।
विभिन्न विद्यालयमा स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम र महिला स्वास्थ्य सम्बन्धी तालिम, सडक नाटकहरू, प्राथमिक उपचार तालिम जस्ता कार्यक्रमहरू गर्दै आइरहेको र स्वस्थ समाज निर्माण गर्नु नै यस संस्थाको लक्ष्य रहेको बताउँदै यसका लागि अनवरत रूपमा लागिरहने संस्थाका गतिविधि संयोजक हरिशचन्द्र विष्टले बताए।