विराटनगर- असुरक्षित गर्भपतन रोक्न युवालाई यौन शिक्षा दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
बाल समाज मोरङद्वारा आयोजित महिला यौन तथा प्रजनन स्वास्थ्य अधिकार जिल्लास्तरीय संवाद कार्यक्रमका वक्ताले बजारमा खुलारुपमा बिक्री वितरण हुने गर्भधारण रोक्ने औषधि नियन्त्रण गर्न पनि सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिए।
वक्ताले लिंगको पहिचान गर्ने कार्यले बढी गर्भपतन गराइने हुँदा समाजमा विकृति उत्पन्न भएको धारणा राखेका छन्।
सो अवसरमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेलले कानुनले निर्दिष्ट गरेअनुसार सुरक्षित गर्भपतन गराउन आग्रह गरे। मोरङ जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले बाल यौन शोषणका अपराधीलाई कानुनको दायरामा ल्याउने कार्यमा सहयोग गरिने बताएका छन्।
विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले असुरक्षित गर्भपतनबाट हुने जोखिम तथा भविष्यमा हुने असरका सम्बन्धमा युवालाई शिक्षित गराउनुपर्नेमा जोड दिइन्।