लहान- ग्रामीण स्वास्थ्य केन्द्र बस्तीपुरले सिरहाको लहान नगरपालिका–१४ बस्तीपुरमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ५० भन्दाबढी बिरामीले स्वास्थ्य जाँच गराएका छन्।
शिविरमा बस्तीपुर, गोविन्दपुर, भदैया, गुदिगाउँ, पिडरवनी, झुटकीलगायतका गाउँका ३ सय ५० भन्दाबढी बिरामीले निःशुल्क स्वास्थ्य जाँच गराएको स्वास्थ्य केन्द्रका आयोजक संस्थाका प्रमुख तथा नाक, कान, घाँटी विशेषज्ञ डा सन्दर्भ गिरीले जानकारी दिनुभयो।
शिविरमा साधारण रुघाखोकी, ज्वरो, जिउ दुख्ने, ग्यास्ट्रिक, छाला, डिप्रेसन, मधुमेह, उच्च रक्तचाप लगायत स्वास्थ्य समस्याबाट पीडित बिरामीले जाँच गराएको र जँचाएका बिरामीलाई औषधिसमेत वितरण गरेको डा गिरीले बताउनुभयो।
उक्त शिविरमा काठमाडौं मेडिकल कलेज (केएमसी) का डा गिरी, डा निराजन क्षेत्री, डा विवेक सिंह, डा आनन्द आचार्य, नर्स सिर्जना कायस्थ, अहेव छविशंकर साह, विएमएलटी ओमप्रकाश राय लगायत चिकित्सकको टोलीेले बिरामीको स्वास्थ्य जाँच गरेको थियो। रासस