काठमाडौं– विषादि प्रयोग मुक्त सप्ताह यस वर्ष ‘घातक विषादिमुक्त संसार, स्वस्थ जीवन र पर्यावरणको आधार’ भन्ने नाराका साथ मनाइँदैछ।
बाली संरक्षण निर्देशनालयले पुस १७ देखि २३ गतेसम्म चल्ने सप्ताहमा विषादि सम्बन्धी जनचेतनामूलक कार्यक्रम, सडक नाटक, अन्तक्र्रिया जस्ता कार्यक्रम गरी पाचौं विषादि प्रयोग मुक्त सप्ताह मनाउँदैछ।
राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशनालयका कार्यक्रम निर्देशक अच्युतप्रसाद ढकालले सप्ताह अवधिभर अत्यन्त घातक विषादिको प्रयोगमा प्रतिबन्ध, ऐन नियमावली कडाइका साथ लागू, आइपिएम कार्यक्रमलाई बढावा, विषादिका विकल्पहरुलाई प्राथमिकता, सञ्चार माध्यमबाट विषादिका असरबारे जानकारी, विषादिको सुरक्षित प्रयोग विधि लगायतका कामलाई प्राथमिकता दिने बताए।
रसायनिक विषादिको न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य र वातवरण अनुकूल जैविक विषादि उत्पादन एवं प्रयोगलाई बढावा दिने ढकालले जानकारी दिए।
आमउपभोक्तमा विषादियुक्त तरकारी एवं फलफूल सेवनबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न निर्देशनालयले २०७१ असार ४ देखि कालिमाटी फलफूल तथा तरकारी बजारमा र चालु आर्थिक वर्षदेखि देशका अन्य ६ स्थानमा विषादि अवशेष द्रूत विश्लेषण इकाइ स्थापना गरी विषादिको अवशेष विश्लेषण कार्य गरिरहेको ढकालले बताए।
खतरनाक विषादिहरु मानव स्वास्थ्य र वातवरणका लागि चुनौतीपूर्ण रहेकाले यसको नियन्त्रणमा ध्यान दिनुपर्ने ढकालको भनाइ थियो।
सन् १९८४मा भारतको भोपालमा विषादि चुहावटका कारण २० हजार मानिसको मृत्यु भएको घटनाको स्मरण गर्दै सन् १९९८ देखि डिसेम्बर ३ लाई विषादि प्रयोगमुक्त दिवसका रुपमा मनाउँदै आइएको छ। नेपालमा भने सन् २०१३ देखि यो सप्ताह मनाइन थालेको हो।