बेनी– हाडजोर्नीको समस्याका कारण जीवनमरणको दोसाँधमा पुगेका म्याग्दीको बेनी नगरपालिका–९ का टीकाबहादुर खत्रीले ओछ्यानबाटै आर्थिक सहयोगको अपिल गरेका छन्।
समान्य परिवारका खत्री विगत दुई महिनादेखि हाडजोर्नीको समस्याले ग्रसित छन्। अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण उपचार गराउन नसकेपछि उनी ओछ्यानमै थला परेको भाई चित्रबहादुर खत्रीले बताए।
जन्मदेखि नै दायाँ खुट्टा केही छोटो भएका खत्रीको परिवारमा वृद्धा आमा थमसरा खत्री, बोल्न नसक्ने श्रीमती र दुई छोरा छन् । “घरको सम्पूर्ण जिम्मेवारी मैमाथि छ, त्यसमा पनि मेरो यस्तो अवस्था भयो, उपचार गराउन पैसा छैन, त्यसैले ओछ्यानमा लडिरहेको छु” खत्रीले भने “तपाईहरुले सक्दो सहयोग गरेर मेरो र मेरो परिवारको जीवन बचाइदिनुहुन सबैसँग घरको ओच्छ्यानबाटै अपिल गर्दछु ।”
सामान्य घरधन्दा गरेर घरपरिवार चलाएका खत्री बिरामी परेपछि घर खर्चसम्म चलाउन गाह्रो भएको उहाँकी वृद्धा आमाको भनाइ छ । खत्रीका भाइ चित्रबहादुर खत्रीले आफ्नो क्षमताले थेग्न सक्नेसम्मको खर्च गरेर नसकेपछि दाइलाई घरमा लिएर आएको बताए।
दाइको उपचारका लागि सहयोग गरिदिन भाइ चित्रबहादुरले देश विदेशमा रहेका आफन्त र सम्पूर्ण सहयोगी मनलाई सामाजिक सञ्जाल र मिडियाबाट अपिल गर्नुभएको छ । खत्रीको उपचारका लागि करिब रु पाँचलाख लाग्ने अस्पतालले जनाएको छ । रासस