कलैया- जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जिल्लामा ४० प्रतिशत बालबालिकामा कुपोषण रहेको बताइएको छ ।
यहाँ आयोजित अन्तरक्रियामा जनस्वास्थ्य अधिकृत प्रेमचन्द्र जयसवालले जिल्लामा ४० प्रतिशत बालबालिका कुपोषणलाई उपचार गर्न जिल्लामा १८ गाउँमा ‘शीघ्र पोषण एकीकृत कार्यक्रम’ सञ्चालन गरिएको जानकारी दिए।
उनका अनुसार युनिसेफको आर्थिक सहयोगमा बहुक्षेत्रीय पोषण कार्यक्रम जिल्लाका उपमहानगर, नगरपालिका र गाउँपालिका गरी १६ वटा स्थानीय तहमा सञ्चालन भएको छ।
सो अवसरमा परिवार नियोजन कार्यालयका राघवेन्द्र कर्णले २०७४÷७५ मा ५०० महिला–पुरुषलाई परिवार नियोजन गराउने लक्ष्य लिएकामा एक महिनामा ८१२ जना महिला–पुरुषको परिवार नियोजन गराएको बताए।
जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन सञ्चारकर्मीका लागि आयोजना गरिएको सो कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख रोशनलाल चौधरीले जनस्वास्थ्यको स्थितिका बारेमा प्रकाश पारेका थिए। रासस