काठमाडाैं– कुकुरको टोकाइबाट रेबिज भएर टोखा नगरपालिका वडा नं. १ झोर फुलबारीमा केही दिनकै अन्तरालमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय विश्वराम अधिकारी र ११ वर्षीय गगन देवकोटा छन्। घटनापछि कुकुरबाट सर्ने यो रोगलाई समयमै नियन्त्रण ल्याउन इपिडेमियोलोजी डिभिजन, टेकु र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रले संयुक्त अभियान थालेका छन्। कुकुरको टोकाइ र रोगको लक्षणका आधारमा रेबिज पहिचान भएको हो।
नगरपालिका र पशु कार्यालयको समन्वयमा रेबिज विरुद्ध समुदायमुखि कार्य थालिने टोखा चण्डेश्वरी प्रास्वाके का प्रमुख डा गुडी झाले जानकारी दिइन्। कुकुरले टोकेमा प्राथमिक उपचारका लागि टोकेको घाउमा १०/१५ मिनेट सम्म साबुन पानीले राम्ररी सफा गर्ने र थप उपचारका लागि तुरुन्त नजिकको स्वास्थ्य केन्द्रमा लैजानुपर्ने र रेबिज विरुद्ध खोप लगाउनुपर्ने डा झाले जानकारी गराइन्। सरकारले खोप नि:शुल्क समेत उपलब्ध गराउदै आएको छ। काठमाडौं उपत्यका भित्र नि:शुल्क खोप शुक्रराज ट्रपिकल अस्पताल र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केनद्रमा उपलब्ध छ।
डा झाका अनुसार मासिक लगभग १५ जना टोखा चण्डेश्वरी प्रास्वाकेमा कुकुरको टोकाइ पछि जँचाउन तथा खोप लगाउन आउने गर्दछन्।
रेबिज रोग लागिसकेपछि यसको उपचार नहुने भएकाले घरपालुवा कुकुरलाई खोप लगाउने, भुस्याहा कुकुरको नियन्त्रण गर्ने तथा टोकेको घाउलाई प्राथमिक उपचार गरेर स्वास्थ्य संस्थामा जचाउन जानुपर्दछ।