काठमाडौं- नागार्जुन नगरपालिकामा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर आयोजना गरिएको छ।
नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाईको आयोजना र नागार्जुन नगरपालिकाको सहयोगमा शिविर आयोजना गरिएको हो।
शिविरको उद्घाटनपछि नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आयुर्वेद विकास र विस्तार गर्न तत्काल उच्चस्तरको आयुर्वेद प्रतिष्ठान स्थापना गरिनुपर्ने बताए।
नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले आयुर्वेदको विकासमा सहयोग गर्न तयार गरेको बताए।
नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवालीले संघीयतामा आयुर्वेदको स्वरूप निर्धारण गर्न केन्द्रदेखि स्थानीय निकायसम्म आयुर्वेदका स्वतन्त्र संस्था स्थापना हुनुपर्ने र प्रत्येक गाउँपालिका देखि चिकित्सक सहितको सेवा प्रदान गर्नुपर्ने बताए।
नेविसंघ आयुर्वेद क्याम्पस इकाई सभापति डा महेश्वर भट्टले आयुर्वेदको विकास र जनचेतनामा लागि शिविर आयोजना गरिएको बताए।
शिविरमा स्वास्थ्य परिक्षण, स्त्री र बाल रोग परिक्षण, योगभ्यास, नि:शुल्क औषधी वितरण गर्ने व्यवस्था गरिएको थियो।