काठमाडौं– नेपाल प्रहरी अस्पतालले ‘मिट द पायोनियर’ कार्यक्रमको सुरुवात गरेको छ। देशका विशिष्ट चिकित्शकलाई अस्पतालमा बोलाएर उनीहरुको अनुभव र सुझाव लिनका लागि अस्पतालले यस्तो कार्यक्रम सुरु गरेको हो।
कार्यक्रमको पहिलो श्रृङ्खलामा अस्पतालले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई शुक्रबार बोलाएको थियो। कार्यक्रममा डा. यादवले आफ्नो बाल्यकाल तथा अध्ययनको क्रममा हासिल गरेको अनुभव, राजनीतिमा प्रवेश गर्नुको कारण, प्रथम राष्ट्रपति हुँदाको अनुभव बाँड्दै स्वास्थ्य सेवा प्रवाह गर्दा ध्यान दिनुपर्ने विषयमा विभिन्न सुझाव दिएका थिए। मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको चर्चा गर्दै उत्कृष्ट सेवा प्रदान गर्न कर्मचारी समन्वय, साधन स्रोत व्यवस्थापन, इमान्दारीता र अनुशासन हुनुपर्ने उनको सुझाव थियो।
डा यादवले विगत ३ महिनाको अवधिमा ‘मर्निङ क्लिनिकल मिटिङ’ मा उत्कृष्ट प्रस्तोता प्रहरी निरीक्षकद्वय डा सुलभ श्रेष्ठ र डा रमन घिमिरेलाई पुरस्कार प्रदान गरे।
कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन पुराना अनुभव आदान प्रदान हुनु महत्वपूर्ण हुने बताए। स्वास्थ्य सेवा जस्तो कार्यमा उत्कृष्ट सेवा पुर्याइ विश्वास जित्नु महत्वपूर्ण भएको चर्चा गर्दै यसको लागि विज्ञहरुको सुझाव र अनुभव ग्रहण गर्नु सान्दर्भिक हुने उनको भनाइ थियो।
पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहले नेपाल प्रहरीमा स्वास्थ्य सेवाको पृष्ठभूमि तथा विकास क्रमबारे कार्यक्रममा बताएका थिए।
नयाँ चिकित्सकहरुलाई थप प्रोत्साहन र ज्ञान दिलाउने उद्देश्यले हरेक महिना ‘मिट द पायोनियर’ कार्यक्रम आयोजना गरिएको प्रहरी अस्पतालका एआइजी डा दिनेशचन्द्र पोखरेलले बताए।