मिलेको जिउडाल र अग्लो कदकी रेश्मा भन्डारी (२३) झट्ट हेर्दा ‘मोडल’झैं लाग्छिन्। तर, मोडल जस्ती उनी भलिबल खेलाडीका रुपमा भने धेरैका लागि ‘रोलमोडल’ हुन्। भन्डारी नेपाली राष्ट्रिय भलिबल टिमकी महत्वपूर्ण स्पाइकर हुन्। सन् २०१५ फेब्रुअरीमा भारतमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत भलिबलमा नेपालले कास्य जित्दा भन्डारी टिमकी महत्वपूर्ण सदस्य थिइन्। हाल सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध भन्डारीले दर्जनौं राष्ट्रिय प्रतियोगिता जितिसकेकी छिन्। काठमाडौं ढुंगेअड्डाकी रेश्माले न्यु डाइमन्ड एकेडेमीबाट भलिबल करियर सुरु गरेकी हुन्।
रेश्मा राष्ट्रिय भलिबल टिमकी फिट एन्ड बोल्ड खेलाडीमा पर्छिन्। सधैं फिट हुनुको कारण उनी दैनिकको व्यायाम र प्रशिक्षण भएको बताउँछिन् । भन्छिन्, ‘बिहान जहिले पनि व्यायाम गर्छु। यो त सबै खेलाडीको सामान्य दैनिकी जस्तै हो। विशेषतः विहान विहान भलिबलको प्रशिक्षण हुन्छ।’
नेटमा उफ्रिएर ‘सर्ट’ प्रहार गर्न हातमा शक्ति केन्द्रित गर्नुपर्ने भएकाले जिम जानु अनिवार्य हुन्छ। त्यसैले भन्डारीले हातलाई बलियो बनाउन जिम पनि गर्ने गरेकी छिन्। जिमबारे उनको भनाइ छ, ‘जिम गर्दा हातको पावर बढ्छ। तर, खेल आउने समयमा भने जिम छोड्नुपर्छ। खेलको बेलामा जिम गर्दा ज्यान दुख्ने समस्या हुन सक्छ।’
व्यायम, जिम र प्रशिक्षणपछि मात्र एक खेलाडीले राम्रो नजिता दिनसक्ने उनको बुझाइ छ। यी तीनवटै कुरामा भन्डारी सचेत छिन्। उनी भन्छिन्, ‘फिट हुन सकिएन भने खेल राम्रो खेल्न सकिँदैन। फिट हुनका लागि सधैं व्यायाम, प्रशिक्षण र प्रतिस्पर्धामा भाग लिए पुगिहाल्छ। खेल्दै नखेली बस्यो भने फिट हुन सकिँदैन।’
रेश्माले शरीर फिट नहुँदा भनेको जस्तो खेल्न नसकेको अनुभव गरेकी छिन्। पावर निकालेर बल हान्न नसकिने र समग्र नजितामै असर पर्ने भन्डारी बताउँछिन्। उनको अनुभव छ, ‘एकपटक अलिअलि ज्वरो आइरहेको थियो। मनबाट खेल्छु भन्दा पनि हात उचाल्ने शक्ति नै आएन। त्यसैले आफू शतप्रतिशत फिट नहुँदा खेलमा असर गर्छ।’
व्यायाम र प्रशिक्षणमा ध्यान दिने भन्डारी खानपिनमा भने त्यति वास्ता गर्दिनन्। ‘पावरका लागि चना र फलफूल खाने गरेकी छु,’ उनी भन्छिन्, ‘खानेकुरा खासै बार्ने गरेको छैन। खान्न भन्दा पनि चिल्लोपिरो अलिअलि त खाइहालिन्छ।’
हालसम्म ठूलो चोटको समाना गर्नु नपरेकोमा उनी आफुलाई भाग्यमानी ठान्छिन्। ‘भलिबल खेलाडी भएपछि हातको औंलामा कहिलेकाहीँ समस्या आउने त भइहाल्छ। तर, अहिलेसम्म हस्पिटल नै पुग्नेगरी घाइते भएको छैन,’ उनले भनिन्।
भलिबल बाहेक उनको रुची मोडलिङमा पनि छ। तर, उनको पहिलो प्राथमिता भलिबल नै हो। सधैं भलिबलमा व्यस्त रहेने उनले मोडलिङ पनि गरिसकेकी छिन्, शोख पूरा गर्न। ‘मोडलिङमै करियर बनाउने बारे सोचेको छैन,’ उनी भन्छिन्, ‘सबैले एकपटक ट्राइ गर भनेपछि मोडलिङ गरेको हो। एकपटक मोडलिङ गर्दैमा त्यही फिल्डमा लाग्नुपर्छ भन्ने छैन।’
उनलाई मोडलिङका लागि खेलाडीको शरीर सबैभन्दा उपयुक्त हुन्छ भन्ने लाग्छ। भन्छिन्, ‘अरु मोडलिङ गर्नका लागि शरीरलाई फिट बनाउन लामो कसरत गरिरहेका हुन्छन्। खेलाडीहरु त यसै फिट हुन्छन्। खेलाडीले मोडलिङका लागि शरीर बनाउन जरुरत नै पर्दैन।’
तस्बिर सौजन्य : राम गुरुङ