काठमाडौं- स्वास्थ्य उपचारका क्षेत्रमा प्रयोग हुने केमिकल तथा उपकरण आपूर्तिकर्ताहरुको छाता संगठन ‘केमिकल सप्लायर्स एसोसिएसन अफ नेपाल’को १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सम्पन्न साधारणसभामा नेपाल भित्रिने सबै उपकरण तथा रसायनको अनिवार्य सूचि दर्ता गर्नुपर्ने माग गरिएको छ। सरकारले यस्ता उपकरण तथा रसायनलाई व्यवस्थित गराउन हालै ल्याएको निर्देशिका कार्यान्वयनमा ल्याउन केमसानले सहयोग गर्ने विषयमा पनि छलफल भएको छ।
साधारण सभामा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले निर्देशिका कार्यान्वयनको प्रक्रियामा रहेको जानकारी दिए। उनले केमसानसँग सहकार्य गर्दै उपकरण तथा रसायन व्यापारको क्षेत्रमा भएको विकृति र अवैध व्यापारलाई रोक्ने बताए।
केमसानका अध्यक्ष सुरेश घिमिरेले निर्देशिका कार्यान्वयनमा आएपछि खुला सिमानाका कारण हुँदै आएको अनाधिकृत आयात समेत नियन्त्रणमा आउने विश्वास व्यक्त गरे।
केमसानका निवर्तमान अध्यक्ष भक्त हमालले स्वास्थ्य उपकरण तथा रसायनमा समान कर तथा छुटको व्यवस्था हुनुपर्नेमा जोड दिए।