कञ्चनपुर- कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१० स्थित झलारी आयुर्वेद औषधालयले निःशुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति सञ्चालनमा ल्याएको छ।
वाथ, नशा, हाडजोर्नी दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या र डिपे्रसनका बिरामीका लागि पञ्चकर्म आयुर्वेदिक चिकित्सा पद्धति सञ्चालनमा ल्याइएको हो।
पञ्चकर्म चिकित्साअनुसार स्नेहनअन्तर्गत रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले बिरामीलाई मालिस गरी शरीरलाई सुगठित गरी पीडाबाट मुक्ति दिलाई शरीरलाई स्फूर्ति गराइने आयुर्वेद औषधालयका वैद्य दिवाकर जोशीले बताए।
‘रोगीको रोगको अवस्थाका आधारमा तेलको छनोट गरी दैनिक एक घण्टाका दरले सातदेखि १४ दिनसम्म उपचार गरिन्छ’, उनले भने।
स्नेहनपछि रोगीलाई नाडी स्वेदनअन्तर्गत नलीको रबर पाइपको प्रयोग गरी औषधिको द्रव्ययुक्त वाष्पलाई शरीरका विभिन्न आवश्यक अंगमा पु¥याउने गरिन्छ।
औषध द्रव्य र जललाई नाडी स्वेदयन्त्रमा राखी आगोमा उमालेपछि निष्कने वाष्प स्वेदन यंत्र (वाष्प बाकस) मा बिरामीको टाउको बाहिर राखी मुनिबाट औषधियुक्त वाष्प प्रवेश गराई उपचार गरिने व्यवस्था गरिएको उनले बताए।
पहिलो पटक औषधालयले प्रयोगमा ल्याएको यस विधिको प्रयोग गरेर उपचार गर्न आउनेहरुको संख्या बढ्दै जान थालेको छ । पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति सञ्चालन र सोका लागि आवश्यक सामग्री खरिद गर्न नगरपालिकाको वडा कार्यालयमार्फत रु एक लाख ५० हजार रकम उपलब्ध गराएको छ । सोही रकमबाट औषधालयले वाष्प बाकस र अन्य सामग्री खरिद गरेको छ।
पञ्चकर्म सेवा शुरु भएकाले यहाँका बिरामीले सेवा लिन अन्यत्र जानु नपर्ने वडाध्यक्ष लालबहादुर ऐरले बताए। यन्त्रको सहायताले उपचार गराउँदा जोर्नीको समस्यासँगै पक्षघात, दम, खोकी, मुख बाङ्गिने, गर्धन कडा हुने, ढाडको दुखाई, शारीरिक तथा मानसिक थकान दूर गर्न सहायक हुने बताइएको छ।
औषधालयले बाथ, अनिन्द्रा, ग्याष्ट्रिक, दम खोकी, लिकोरिया, जोर्नी दुख्ने, कमलपित्त र छालाको समस्या लिएर आउने बिरामीको रोग यकिन गरी अविपत्तिकर, सिटोप्लावी, रक्त लवम्गवी, सम्डिपन, हिमकाष्ट, सतरावी, विलम्वी, भुवनेश्वरी वटी, अतिसार चूर्ण र विभिन्न भष्मबाट निःशुल्क उपचार गरिँदै आएको छ।
औषधालयमा २९ प्रकारको औषधि पाइने गरेको छ । जसमध्ये चूर्ण १२ प्रकारको, बटी १७ प्रकारको र एक प्रकारको तेल औषधालयबाट बिरामीलाई निःशुल्क पाइने गरेको छ । स्तनपाई आमाका लागि दुग्धवर्धक सतावरी चूर्ण र सुत्केरी भइसकेपछि मालिस गर्ने तेलसमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ।
वृद्धवृद्धाका लागि थकान कम गर्ने अश्वगन्धा निःशुल्क प्रदान गरिने व्यवस्थाले महिला र वृद्धवृद्धाको आकर्षण आयुर्वेदिक औषधालय बनेको छ। रासस