झापा- राष्ट्रिय योग दिवस २०७४ को अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाले ८ वटा विस्तारित सेवाको औपचारिक उद्घाटन गरेको छ।
गत वर्षबाट स्थानीय तहसँग साझेदारी गरी सरकारीस्तरमा सञ्चालन गरिरहेको क्षारसूत्र, अकुपञ्चर, सशुल्क फार्मेसी, प्याथोलोजी ल्याब सेवा, स्टिम थेरापी, फिजियोथेरापी लगायत ८ प्रकारका स्वास्थ्य सेवालाई पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा पोखरेलले आयुर्वेद केन्द्र जागिर खाने ठाउँ मात्र नभएर अनुसन्धान सहितको उपचार केन्द्रका रुपमा विकास हुनुपर्ने धारणा राखे। उनले आफ्नै वरपरका जडीबुटी आफैंले प्रशोधन गरी रोग निदान गर्न सक्ने सामथ्र्यमा आयुर्वेद केन्द्रहरुको विकास हुने वातावरण निर्माण गर्न स्थानीय तह र केन्द्रबीच सहकार्य जरुरी भएको बताए।
भद्रपुर नगर प्रमुख तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयुर्वेद विभागका महानिर्देशक डाक्टर वासुदेव उपाध्याय, स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासनका सहसचिव जनार्दन गुरागाईं लगायतले मन्तव्य राखेका थिए। उनीहरुले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापालाई क्षेत्रीय आयुर्वेद अस्पतालका रुपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाए।