काठमाडौं- महिला स्वास्थ्यका विषयमा सचेतना बढाउन काठमाडौंमा आगामी फागुनमा दोस्रो ‘पिंकाथन’ नामक महिला दौड कार्यक्रम हुने भएको छ।
भारतीय सुपरमोडल मिलिन्द सोमनले प्रवर्धन गर्दै आएको उक्त ‘पिंकाथन’ फागुन १२ गते शनिबार राजधानीमा हुनेछ। कार्यक्रमबारे जानकारी दिन मोडल सोमन काठमाडौं आएका थिए। सन् २०१२ देखि भारतमा सुरु भएको पिंकथान नेपालमा भने गत वर्षबाट सुरु भएको हो।
उनले परिवार र आफन्तको हेरचाहमा केन्द्रित हुने महिलालाई आफ्नै स्वास्थ्यबारे जागरुक गराउन ‘पिंकाथन’ आयोजना गर्दै आएको जानकारी दिए।
‘परिवारको ख्याल गर्दागर्दै महिलाहरु आफ्नो स्वास्थ्यमा ध्यान दिन भने चुकिरहेका हुन्छन्,’ उनले भने, ‘त्यसकारण महिलालाई आफ्नो स्वास्थ्यको ख्याल गरौँ भन्ने सन्देश बाँड्नु नै यो अभियानको उद्देश्य हो।’
उनले काठमाडौंमा हुने पिंकथानमा भारतमा झैँ धेरै भन्दा धेरै महिलाको सहभागिता रहने विश्वास व्यक्ति गरे। गत वर्ष भएको पिंकथानमा ३ हजारको सहभागिता थियो। यो वर्ष ११ हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ।
पिंकाथनमा ३, ५, १० र २१ किमि दूरीको दौड हुनेछ। दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार समेत प्रदान गरिनेछ।