मलाई डा गोविन्द केसीको धेरै चिन्ता लागिरहन्छ। कति दिन भोकै बस्नुहुन्छ। कति गाह्रो हुन्छ होला भन्ने कुरा मनमा खेलिरहन्छ।
मैले अहिले पनि अस्पतालमा कोही चिनेको मान्छे देखें भने उहाँको बारेमा सोधिहाल्छु।
सुनेको छु, अस्ति मैले जुस खुवाएर आएपछि उहाँ बिरामी नै हुनुहुन्थ्यो रे। तर लगत्तै उहाँ त शितलहरले पीडित भएकाहरुलाई उपचार गर्न मधेस जानु भएछ। मलाई उहाँलाई भेटेर कस्तो छ भनेर सोध्न मन लागेको छ, तर मलाई उहाँ कुन क्वार्टरमा बस्नुहुन्छ थाहा छैन। नत्र म गएर भेट्थें। मलाई उहाँको निकै माया लाग्छ।
हेर्नोस्, जनताका लागि लड्ने मान्छेलाई सबैले माया गर्नुपर्छ।
उहाँजस्तो साधारण डाक्टर देखेर म त दङ्ग पर्छु। जब म तीन वर्षअघि अस्पतालअघि जुत्ता सिलाउन आएँ, त्यसबेलादेखि नै मैले यहाँ बस्ने साथीहरुलाई मलाई डा गोविन्द केसीलाई देख्यौ भने चिनाइदिनु भनेको थिएँ। उहाँलाई चिन्न निकै मन थियो।
रेडियोमा, पत्रिकामा र मानिसहरुले कुरा गरेको सुनेर उहाँको नामसँग म परिचित भएको थिएँ। तर, प्रत्यक्ष भेटेको थिएन।
एक दिन उहाँ अस्पतालबाट बाहिर आउँदै हुनुहुँदोरैछ, अनि एउटाले ऊ डा गोविन्द केसी भन्यो। मैले हेरें, पत्रिकामा जस्तै फोटोको मानिस देखेपछि म त जुरुक्क उठेर उहाँका अघि गएर ‘डाक्साप नमस्कार’ भने। उहाँले पनि हाँसेर नमस्कार भन्नुभयो।
अनि मैले ‘हजुरलाई धेरै भेट्न मन लागेको थियो’ भनेपछि उहाँले हाँसेर ‘हो?’ भन्नु भयो अनि मेरो बारे सोध्नुभयो। त्यो बेला निकै खुसी लागेको थियो।
त्यसपछि पनि काम गरिरहेका बेला डासापलाई देखें भने म त उहाँका अघि गएर नमस्कार भनिहाल्छु। अहिले त उहाँले मलाई चिनिहाल्नुहुन्छ। हालखबर सोध्नुहुन्छ।
उहाँ के–के माग राखेर अनसन बसिरहनु हुन्छ। अहिले पनि उहाँ अनसन बसेको सुनेपछि मलाई चिन्ता लागिरहेको थियो। अनसन तोड्ने दिन एक जना आएर दाइ तपाईंलाई डा गोविन्द केसीले बोलाउनुभएको छ भने।
ओहो! म त दंग परें। मलाई डासापले किन बोलाउनुभयो भनेर छक्क पर्दै सोधेको, उनले ‘उतै हिँड्नुस् सरले आफैं भन्नुहुन्छ’ भने।
अनि त म क्यै नभनी पसल यसै छोडेर खुसी भएर उहाँलाई भेट्न गएँ। उहाँले ‘के छ?’ भनेर सोध्नुभयो। मैले ठीक छ भनें। उहाँले मेरो हतबाट जुस खाएर अनसन तोड्ने मन बनाउनुभएको रैछ।
मलाई एकछिन त विश्वास नै लागेन। यस्तो डाक्टरजस्तो मानिसले मजस्तो जुत्ता सिलाउनेलाई किन भन्नुभयो होला भन्ने लाग्यो।
तर, उहाँले मलाई चिन्नुभएकाले सम्झेर बोलाउनुभयो भन्ने सम्झेर निकै खुसी लाग्यो।
उहाँजस्तो साधारण व्यवहार भएको ठूलो डाक्टर देखेर अचम्म लाग्छ। गाडी पनि चढेको देख्दिनँ, जहिल्यै साधारण लुगा लगाउनुहुन्छ। कोही नचिनेको मान्छेले भेट्यो भने डाक्टर होला भनेर पनि सोच्न सक्दैन।
मलाई उहाँको सबै माग त थाहा छैन। गरिबले पनि सस्तोमा उपचार पाउनुपर्छ भन्ने माग पनि छ भन्ने थाहा छ। उहाँजस्तो राम्रो मान्छेले गरेको माग सबै राम्रो होला जस्तो लाग्छ। उहाँको माग सरकारले पूरा गरिदिए हुन्थ्यो भनेर काम गर्दा पनि मनमा कुरा खेल्छ।
हामीलाई एकछिन भोकै बस्दा त कति गाह्रो हुन्छ, उहाँ झन् धेरै दिन भोकै बस्नुहुन्छ। अस्ति पनि माग पूरा भएन भने फेरि बस्छु भन्नुभएको थियो, चिन्ता लाग्छ।
मेरो घर त सखुवानान्कारकट्टी गाउँपालिका–२ सिराहामा हो। माओवादीको युद्ध चलेको बेला मेरो १४ वर्षको छोराले समयमा उपचार नपाएर संसार छोड्यो। ऋण खोजेर भारतमा लगें तर सन्चो भएन उतै बित्यो। ७ कक्षामा पढ्थ्यो। बाँचेको भए त अहिले जवान हुन्थ्यो।
त्यसैको पीरले मेरो श्रीमती बिरामी छ। छोरोको पीर भुल्ली भनेर काठमाडौं ल्याएको थिएँ तर झन् बिरामी भई। सिरहा नै जान्छु भनी। त्यो बेला छोरा र बुढीको औषधि गर्न लिएको ऋणको ब्याज बढेर पाँच लाख भएको थियो।
गोरु, भएको अलिकति खेत सबै बेचेर बल्लबल्ल ऋण तिरें। अहिले एक छोरा, बुहारी र बुढी गाउँमै बस्छन्। बुढीलाई राम्ररी उपचार गर्न पैसा छैन। जुत्ता सिलाएर कति आम्दानी हुन्छ र?
छोरो गाउँमै अरुको काम गर्छ। हामीजस्ता मानिसका लागि फ्रीमा उपचार गरिदिनुपर्ने हो नि, तर यहाँ त जाली फटाहाहरुको मात्र चल्छ। हामीजस्तो सोझो काम गरी खाने मानिसको कसैलाई वास्ता हुन्छ।
२५ वर्ष भयो जुत्ता सिलाउन लागेको। जिउने बाटै यही हो। काम गर्दा गाह्रो छ। जुत्ता सिलाउन आउने मानिसले पनि हेप्छन्। काम पनि गरिदिनुपर्छ अनि उनीहरुका भनाइ पनि सुन्नुपर्छ। पैसा दिनुपर्दा उस्तै कचकच गर्छन् नि।