काठमाडौँ – सप्ताहव्यायी रुपमा राष्ट्रिय योग दिवस मनाउने क्रममा विश्वव्यापी अन्तराष्ट्रिय संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका संस्थापक पिता ब्रह्माबाबाको ४९ औं पुण्य स्मृति दिवस तथा विश्व शान्ति दिवस आज सम्पन्न भएको छ।
सभामा नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले योग साधनाले मानिसलाई शारीरिक र मानसिक स्वास्थ्य प्रदान गर्नाका साथै स्वअनुशाशित, स्वच्छ, निर्मल, इमानदार र सदाचारी व्यक्तित्व निर्माण गर्ने बताए। उनले नेपालको दिगो शान्ति, विकास र समृद्धिका लागि स्थायी सरकारको आवश्यता रहेकामा जोड दिँदै नेतृत्व वर्गले पनि ज्ञान, योग र ध्यानको अभ्यास गर्नुपर्ने बताए।
सो अवसरमा राज दिदीले ब्रह्माबाबा उदारचित्त र विशाल हृदयका धनी रहेको स्मरण गर्दै उनले मातृशक्तिको उच्च सम्मान गरी उनीहरुलाई आध्यात्मिक क्षेत्रको जिम्मेवारीसहितत अग्रस्थानमा राखेर सबल, चेतनशीलर विश्वशान्ति स्थापनाको सेवाका लागि योग्य बनाउने काम गरेको जानकारी दिए।
ब्रह्माकुमार रामसिंह ऐर र तिलकबहादुर शाहीले ब्रह्माबाबा महान् त्यागी, तपस्वी र कल्याणकारी व्यतिmत्व भएको बताए। कार्यक्रममा विशेष रुपले सजाइएको शान्ति स्तम्भमा संयुक्त रुपमा योग अभ्यास गरी विश्वशान्तिको कामनाका साथ शान्तिका शक्तिशाली प्रकम्पन फैलाउन मौनधारणसमेत गरिएको थियो। रासस