बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ।
स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० बाहेक गाउँपालिकाले दिएको थप रु एक हजार प्रोत्साहन भत्ता वितरण गरिसकेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए।
उनले भने, ‘आव २०७४÷७५ को साउनदेखि ४८ जना आमालाई सो रकम वितरण गरिसकेका छौँ।’
गाउँपालिकाको यो निर्णयले दोगडाकेदार गाउँपालिकाका महिला निकै खुशी भएका छन् । छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिएबापत गाउँपालिकाले प्रोत्साहन भत्ता दिँदा जन्मिएका बालबालिकालाई न्यानो लुगा किन्न सजिलो भएको दोगडाकेदार–६ का रुवसी विकले बताए।
‘पैसा कमै भएपनि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो लाग्यो’, उनले भने, ‘दोगडाकेदार गाउँपालिकाले छोरी जन्मिँदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको छ।’
यो कार्यले आमालाई पनि साहस प्राप्त हुने र घरमै हुने विभेदको अन्त्य पनि हुने गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन्। ‘छोराछोरीमाथि भेदभाव अन्त्यका लागि गाउँपालिकाले पहल थालेको हो,’ उनले भनिन्, ‘हाम्रो समाजमा अझैै पनि छोरा र छोरी भनेर विभेद गरिन्छ, छोराछोरीबीचको विभेद अन्त्य हुने विश्वास लिएका छौँ।’
गर्भावस्थामै छोरी भए गर्भ फाल्ने हुनाले भु्रणहत्यामा कमी ल्याउनका लागि गत भदौदेखि प्रोत्साहन दिने निर्णय गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए।
‘महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न यस्तो निर्णय गरिएको हो, छोरी जन्माउँदा घरमा पनि नकारात्मक सोचले हेर्ने भएकाले यो स्थितिमा परिवर्तन गर्नु आवश्यक छ,’ उनले भने।
छोरी जन्मिँदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो । रासस