बेनी, म्याग्दी- आठ वर्षअघि आँखाले देख्न छोडेपछि निकै कष्टकर जीवन बिताउँदै आएका बेनी नगरपालिका–४, सिंगा डाँडाखेतका खिमनाथ शर्मा आठ वर्षपछि आँखा देख्न सक्ने भएका छन्।
म्याग्दीमा रहेको लायन्स क्लबको आयोजनामा सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रिया सफल भएपछि आठ वर्षपछि श्रीमती पार्वती शर्मालाई देख्न पाउँदा शर्मा दंग परेका छन्।
आँखा देख्ने भएपछि शर्माले आफ्नो उपचारमा खटिएका चिकित्सकलाई धन्यवाद दिँदै श्रीमती पार्वती शर्माले गरेको दुःख अब आफूले गर्ने बताउँदै घर फर्किए। वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा २४ वर्ष बिताएका शर्माले आठ वर्षपछि श्रीमतीलाई देख्न पाएको बताए।
यसैगरी, शर्माजस्तै तीनवर्ष अघि आँखाले देख्न छोडेपछि अरुको सहारामा जीवन बिताउँदै आएका बेनी नगरपालिका–५, पुलाचौरका हर्कबहादुर विक तीन वर्ष पछि आँखा देख्न सक्ने भएका छन्। तीनवर्ष पछि श्रीमती लालकुमारी विकलाई देख्न पाउँदा विक पनि दंग छन्।
उमेरले ६५ काटेका विकलाई आँखा बन्द भएपछि रात र दिन एकै लाग्थे । बूढेसकालमा आँखाले समेत धोका दिएपछि श्रीमतीको सहयोगमा दिन बिताउने गर्थे। शरीर र हात पाखुरा कमजोर भएपनि विकका आँखामा दृष्टि फर्किए पछि आफू युवा अवस्थामै फर्किएको महसुस भएको उनले बताए।
केही दिन अगाडि बेनीमा आयोजित निःशुल्क आँखा शिविरमा म्याग्दीको सदरमुकाम बेनीमा सक्रिय रहेका लायन्स क्लबले आयोजना गरेको शिविरमा लामो समयसम्म आँखा बन्द भएका बिरामीको आँखा खुलेपछि खुशियाली छाएको छ।
आँखा देख्नसक्ने भएपछि हिमालयन आँखा अस्पताल, पोखराका डा हरिविक्रम अधिकारीको नेतृत्वमा आएको टोलीलाई बिरामीले धन्यवाद दिँदै घर फर्किएका लायन्स क्लब बेनी महारानीकी अध्यक्ष प्रमिला श्रेष्ठले बताइन्।
‘वृद्धवृद्धाको अनुहारमा खुशी देख्नु नै ठूलो सेवा हो । लायन्स सेवाका लागि समर्पित छ भन्ने पुष्टि समाजमा भइसकेको छ’ उन भनिन्। शिविरमा ४६ जनाको मोतियाबिन्दुको शल्यक्रिया, चारजनाको सामान्य शल्यक्रियासहित १५० जनाभन्दा बढीले सेवा लिएका थिए । शिविरमा अधिकांशको दाहिने आँखामा समस्या भेटिएको डा अधिकारीले बताए।
लायन्सले स्वास्थ्य, शिक्षालगायत विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने गरेको छ । जिल्लाको दुर्गम क्षेत्रमा जनचेतनाको अभाव, आर्थिक अवस्था कमजोर र रोग लुकाउने गरिएकाले पनि आँखाको समस्या भएका धेरै बिरामी स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका छन्।
गत महिना मलेसियामा व्यवसाय गर्ने बेनी नगरपालिका–१, रत्नेचौर स्थायी घर भएका दीपक बोगटीले स्व पिता ओमबहादुर बोगटी र भाइ लोकेश बोगटीको स्मृतिमा पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा आयोजना गरेको आँखा शिविरमा ७०२ जनाले सेवा लिएका थिए। रासस