प्रश्न : मेरो आँखा आजकाल असाध्यै चिलाउँछ, साथै बिहान उठ्दा चिप्राले आँखै टालिन्छ। किन यस्तो भएको होला ? – दिनेश, धुम्बाराही
उत्तर : दिनेशजी, तपाईंको उमेर कति हो खुलाउनु भएको छैन। उमेरअनुसार समस्या उत्पन्न हुन सक्छ। जाडो समय भएकाले चिसोको कारण पनि बिहानमा चिप्रा आउने हुन्छ। साथै इन्फेक्सनको कारणले पनि यस्तो समस्या उत्पन्न हुन्छ। आजकाल उपत्यकाको वातावरण निकै प्रदुषित छ। सडकमा उड्ने धुलो र सवारीसाधनबाट निस्कने धुँवाका कारण वातावरण प्रदुषित छ। धुलो, धुँवाको इन्फेक्सन र आँखामा हुने विभिन्न एलर्जीका कारण पनि यस्तो समस्या हुन्छ। बिहानको समयमा चिप्रा आउने भन्नुभएको छ, यो इन्फेक्सनका कारणले हो। इन्फेक्सनका कारण आँखा रातो हुने, दुख्ने, चिलाउने र बिहान चिप्रा आएर आँखा टालिने हुन्छ। यसले पछि समस्या निम्त्याउन सक्छ। त्यसकारण समयमै उचित उपचार गर्नु उपयुक्त हुन्छ। तर आँखा चिलायो भन्दैमा आँखा मिच्ने, मेडिकलबाट औषधि लिएर जथाभावी हाल्नु भने हुदैन। चिकित्सकसँग उचित सल्लाह लिएर मात्र उपचार गर्नुपर्छ।
- डा. रमेशबहादुर प्रधान, ओम अस्पताल