२०६२ सलामा दोलखाको सुनखानी गाविस १, डाँडाथोकका कुलप्रसाद सिवाकोटी बाबु र परिवारको नाममा भएको १ लाख रुपैँया ऋण तिर्न शहर झरेका थिए । ठ्याक्कै १० वर्षपछि २८ वर्षीय कुलप्रसाद सोही गाउँ उक्लिए । त्यतिबेलाको ऋण तिर्न होइन, कुनैबेला आफ्नोजस्तै अवस्था भएका भूकम्प पीडितलाई घर बनाउने रकम बाँड्न । व्यक्तिगत रुपमा उनले २१ लाख रुपैयाँ बाँडेर काठमाडौं फर्किएका छन् ।
स्वीट्जल्याण्डको राजधानी वर्नस्थित सिलोहा हस्पिटलका नर्स उनी दुई हप्ताको छुट्टी लिएर राहत बाँड्न नेपाल आइपुगेका हुन् । उनले आफू जन्मेको गाविस सुनखानीका ३३ परिवार र छिमेकी गाविसका १७ परिवार गरी ५५ परिवारलाई २० लाख रुपैयाँ नगद बाँडे । त्यसैगरी गाउँभरीका बिद्यालयमा पढ्ने निम्न आय भएका १ सय १७ जना बिद्यार्थीका लागि १ लाख १७ हजार रुपैयाँ रकम सहयोग गरेका छन् ।
बाढी पीडित हुँदाको दुःख सम्झेर सहयोग
उनले यसरी नगद सहयोग गर्नुमा समाजसेवी मन मात्रै होइन, केही भावानात्मक कारण पनि छन् । उनी भन्छन्, ‘प्रशस्त कमाएर दिएको होइन । दुःख बाँडेको हुँ । २०५३ सालमा हाम्रो परिवार बाढी पीडित हुँदा ९ महिना अर्काको घर र गोठमा गुजारेका थियौं । त्यही सम्झेर सहयोग गर्न मन लाग्यो ।’ भूकम्प गएपछि पनि उनी राहत लिएर गाउँ गएका थिए । केही समय उद्धार र राहतमा खटेर स्वीट्जरल्याण्ड फर्किएका हुन् ।
त्यहाँ पुगेपछि पनि पीडितका घर बन्न नसकेका समाचारले उनलाई पोलिरह्यो । आफ्नो परिवार अभावमा रहेको समयमा बाढी पिडित हुँदा पाएको दुःख सम्झिए । त्यसपछि उनी आफूसँग भएको रकम दिएर उनीहरुको उद्धार गर्न आइपुगेका हुन् ।
उनले मंगलबार गाउँभरीका निम्न आय भएका ५५ भूकम्प पिडित परिवार र बालबालिकालाई गाउँ विकास समितिको सहयोगमा उक्त रकम हस्तान्तरण गरेका छन्। कुलप्रसादले गाविस र स्थानिय संयन्त्रसँगको छलफलका आधारमा निम्न आय भएकाहरुलाई विपन्न मानी प्रति परिवार १० हजारदेखि २ लाख रुपैयाँसम्म रकम बाँडेको बताए । उनले मंगलबार गाउँमै कार्यक्रम गरी पीडितको अवस्था हेरी दुई लाखदेखि १० हजार रुपैयाँसम्म बाँडेका हुन् सुन्द्रावती गाविसका थिरप्रसाद ओलीलाई सबैभन्दा बढी दुई लाख रुपैयाँ, सुनखानी गाविस ६ का धनमाया खरेललाई एक लाख ८० हजार, सुन्द्रावतीका लक्ष्मी उप्रेतीलाई डेढ लाख र सुन्द्रावतीकै संगीता पकुवाललाई एक लाख रुपैयाँ दिए भने अरुलाई अवस्था हेरि १० हजारदेखि ६० हजार रुपैयाँसम्म वितरण गरेका छन् ।
यी २८ वर्षीय युवाले देखाएको सहयोगी भावनाबाट ओतप्रोत भएर गाउँलेहरु भावुक बनेका थिए । त्यो भावुकता कुनैबेला उनकै आर्थिक हैसियतसँग गएर पनि गाँसिएको थियो । निम्न आर्थिक अवस्थाको परिवारका उनी २०६२ सालमा उनी बाबु र परिवारको नाममा भएको १ लाख रुपैँया तिर्न काठमाडौं झरेका थिए ।
‘खलासी’देखि नर्ससम्म
काठमाडौं पुगेपछि उनले अनेक संघर्ष गरे । त्यस क्रममा माइक्रोबसमा सहचालक भए, इँटा भट्टा र होटलमा पनि काम गरेको बताए । ‘बसमा खलासी काम गर्ने क्रममा उनी भारतको सिक्किम पुगें । सोही क्रममा नेदरल्याण्डका प्राध्यापक डाक्टर ड्रिमसँग भेट भयो,’ उनले भने, ‘उहाँले त्यहाँ मैले गरेको कामको ख्याल गर्नुभएको रहेछ । त्यसपछि मेरो जीवन बदलियो ।’
डा ड्रिमसँग भेट भएपछि कुल प्रसादको जीवनको सपना बदलियो । ती प्राध्यापक कुलप्रसादको कामबाट प्रभावित थिए । त्यसैले आफूले पोखरामा शुरु गर्न लागेको रिसोर्टमा किचेन हेल्पर काम गर्न सँगै ल्याए । उनका अनुसार किचेन हेल्पर हुँदै वेटर भए । त्यसपछि कुकको तालिमका लागि उनलाई थाइल्यण्ड र स्विजरलेण्डलगायत देशमा पठाइयो । होटल तालिम लिएर फर्किएपछि होटलको म्यानेजरमा नियुक्त भए । त्यसपछि आफैंले होटल समेत चलाए ।
व्यवसायमा सफलता मिलेसँगै उनलाई पढ्ने हुटहुटी फेरि जाग्यो । होटेल भाईको जिम्मा लगाएर उनी होटेल व्यवसाय सम्बन्धि थप अध्ययन गर्न भनेर स्वीट्जरल्याण्ड पुगेका थिए । उनले सोचे, ‘थप पढेपनि होटेल लाइनमा आफ्ना लागि समय नै हुँदैन ।’ त्यसपछि उनका साथीहरुले 4 पढ्न सुझाए । जर्मन भाषा सिकिसकेका उनले सोही ठाउँ बसेर काम गर्न पनि 4 उपयुक्त रहेको ठहर गरेर 4 पढेका हुन् ।
नेपालमा पनि चाहिन्छ पुरुष नर्स
दुई वर्षदेखि 4 सेवामा आवद्ध छन् । उनको त्यहाँको अनुभवले भन्छ, ‘नेपालमा पनि पुरुष नर्सको आवश्यकता छ ।’ किनभने नेपालमा अझैपनि लजाउने प्रवृत्तिको अन्त्य भएको छैन । पुरुष बिरामी महिला नर्सका अघि खुल्न डराउने र कतिपय अवस्थामा नर्सलाई पनि पुरुषको हेरचाहमा असहज महशुस हुने गर्छ । यस्तो अवस्थामा अस्पतालमा केही पुरुष नर्स भए सहज हुने उनको स्वीट्जरल्याण्ड अनुभवले बताउँछ । यसैगरी कहिलेकाहिँ बिरामी ओसार पसारमा पनि महिला नर्सका लागि समस्या पर्छ । यस्तो अवस्थामा पनि मेल नर्स भए सजिलो हुने उनी बताउँछन् ।
नर्स हुनुअघि नेपालका अस्पतालमा जाँदा भोगेको एउटा व्यवहार उनलाई अहिले आएर गलत लाग्छ । भन्छन्, ‘नेपालमा डाक्टर र नर्सलाई आफू बिरामीभन्दा माथि भन्ने अहं हुन्छ । विदेशमा भने ठ्याक्कै उल्टो हुन्छ ।’ यसका साथै उपचारमा अपनाइने पारदर्शीताको पनि नेपालमा अभाव रहेको उनी बताउँछन् । ‘स्वास्थ्यमा इन्स्योरेन्सको व्यवस्था हुन नसक्नुका कारणले पनि यो अवस्था आएको हो,’ उनले भने ।