छोटो समयमै सफलताको सिँढी उक्लिने थोरै हुन्छन्। तिनैमध्येका एक हुन्– नरेशकुमार श्रेष्ठ। सन् १९८२ मा भारतीय ग्ल्याक्सो कम्पनीको मेडिकल रिप्रेन्जेटिभ (एमआर) का रूपमा करिअर थालेका श्रेष्ठ मिहिनेत, भिजन र इमान्दारीका कारण अहिले पानस फर्मास्युटिकल्सको मार्केटिङ डाइरेक्टर (एमडी)का रूपमा मात्रै नभएर नेपालको औषधि क्षेत्रकै चर्चित व्यक्तित्व बन्न पुगेका छन्।
ग्ल्याक्सोमा झन्डै आठ वर्ष काम गरेपछि श्रेष्ठ नेपाल फर्मास्युटिकल्स ल्याबरोटरिज (एनपिएल) मा फस्ट लाइन म्यानेजर हुँदै मार्केटिङ विभागको उपाध्यक्षसम्म बन्न सफल भए। एनपिएलमा १८ वर्ष बिताएका उनलाई उद्योग कसरी अगाडि बढाउने पूर्ण ज्ञान छ। त्यसैले त उनी हरेक कम्पनीको रोजाइमा पर्छन्। प्रतिस्पर्धाले नै मानिसलाई उत्कृष्टता हासिल गर्न सघाउँछ।
औषधि क्षेत्रमा प्रवेश गर्नुअघि उनी विराटनगरको एक विद्यालय पढाउँथे र विद्यार्थीका प्यारा विज्ञान शिक्षक पनि थिए। उनको करिअरको सुरुआततिर न नेपाली औषधि उद्योग धेरै थिए, न त डाक्टर नै। तर, थोरै भए पनि डाक्टरहरू नेपाली औषधिका बारेमा जान्न उत्सुक हुन्थे, प्रशस्त समय दिन्थे, प्रोत्साहन पनि गर्थे। बजार प्रतिनिधि र डाक्टरबीच बिरामीको हकहितमा कुरा हुन्थे।
अहिले दुवैको संख्या बढेको छ र प्रतिस्पर्धा पनि चर्को छ। उनको अनुभव छ, “अहिले डाक्टरहरूमा औषधिका बारेमा सुन्ने समय कम भएको छ। त्यसले कतिपय अवस्थामा बिरामीलाई पनि समस्या पारेको छ।” कम्पनी र डाक्टरबीचको संवादहीनताले ‘अनइथिकल मार्केटिङ प्राक्टिस’ बढाएको उनको अनुभव छ। अहिलेको प्रतिस्पर्धी बजारमा आफ्ना उत्पादन र संस्थालाई स्थापित गर्नु निकै ठुलो चुनौती रहेको श्रेष्ठको अनुभव छ। उनलाई लाग्छ ‘कन्टिन्यु इम्प्रुभमेन्ट इज ह्वाट वी बिलिभ।’
हरेक डाक्टरको मनमा बस्न सिपालु श्रेष्ठले छोटो अवधिमै पानसलाई सफलताको बाटोमा पु¥याएका छन्। उनको अनुभवमा सबै उद्योग बिक्री बढाउन लागेका छन्। तर, ज्ञान बढाउनेमा कोही लागेको देखिँदैन। त्यसैले नेपाली उत्पादन विदेशीसँगको प्रतिस्पर्धामा झन् पछाडि परेको स्थिति छ। त्यसैले औषधि उद्योग सञ्चालनअगावै खास कुन बाटो जाने हो, त्यो पहिल्याउनु जरुरी हुन्छ।
हरिगोपाल पौडेल, मार्केटिङ म्यानेजर
म उहाँसँग १६ वर्षदेखि काम गरिरहेको छु। उपभोक्ताको चाहना र सन्तुष्टि बुझेर काम गर्दा नै नतिजा राम्रो आउँछ भन्ने उहाँको मान्यता छ। उहाँले तत्कालको बिक्री र नाफाभन्दा पनि दुरदृष्टि राखेर काम गरेको मैले महसुस गरेको छु। ‘इथिक्स’ बाहिर नगईकन इमान्दारीपूर्वक काम गर्ने हो भन्नेमा उहाँ स्पष्ट हुनुहुन्छ। नतिजा तुरुन्त आउने होइन, काम गर्दै जाँदा आउँछ। त्यसका लागि धैर्य चाहिन्छ।
माधव अधिकारी, सह प्रबन्ध निर्देशक
पानस टिममा सञ्चालित संस्था हो। टिम मिलाउने उहाँ निकै सिपालु हुनुहुन्छ। उहाँको लामो अनुभव र काम गर्ने तौरतरिका निकै राम्रो छ। बजार मूल्यांकन हेर्दा पनि उहाँको पर्फमेन्स राम्रो देखिएको छ। उहाँ खुला दिलको स्पष्टवक्ता हुनुहुन्छ। काम गर्दा पनि मजा लाग्छ। औषधि भनेको सेवाको मार्केटिङ हो। यसमा विश्वासको ठुलो भूमिका छ। उहाँले त्यो विश्वास दिलाइरहनुभएको छ।