नेपालगञ्ज– नेपाल चिकित्सक संघ भेरीको अध्यक्षमा मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका प्लास्टिक सर्जन डा विनोद कर्ण निर्वाचित भएका छन्।
बुधबार भएको निर्वाचनमा वरिष्ठ चिकित्सक डा केएन जोशीलाई पराजित गर्दै डा कर्ण अध्यक्ष निर्वाचित भएका हुन्।
डा कर्णले ७५ र उनका प्रतिद्वन्द्वी डा जोशीले १६ मत प्राप्त गरेका थिए। संघको उपाध्यक्ष र अन्य पदाधिकारी भने निर्विरोध निर्वाचित भए।
डा कर्ण हालै सम्पन्न प्रदेशसभा सदस्य पदमा विवेकशील साझा पार्टीको तर्फबाट बाँकेको क्षेत्र नम्बर २ ‘ख’ बाट उठेर पराजित भएका थिए।
अध्यक्षमा निर्वाचित भएपछि डा कर्णले चिकित्सक संघलाई सामाजिक संस्थाको रुपमा विकसित गर्दै आम जनताको स्वास्थ्य उपचारलाई सहज, गुणस्तरीय र प्रभावकारी बनाउन प्रयास गर्ने बताए।