बाजुरा– जिल्लाको एक निजी कम्पनी जेबी मिडिया प्रालिले वार्षिकोत्सवको अवसमा जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचाररत बिरामीलाई कम्मल र फलफूल वितरण गरेको छ।
संस्थाको दोस्रो स्थापना दिवसको अवसरमा आम्दानीको केही प्रतिशत सामाजिक उत्तरदायित्व बहनका लागि जिल्ला स्वास्थ्य कार्यालयका बेडमा रहेका बिरामीहरुलाई कम्मल तथा फलफूल वितरण गरिएको जेवि मिडिया प्रालिका अध्यक्ष अमर खड्काले बताए ।
चिसो मौसमलाई मध्यनजर गर्दै १० वटा कम्मल उपचाररत बिरामीहरुलाई वितरण गरिएको छ । कम्मल वितरण गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे। उनले समाज परिवर्तनका लागि यस्ता कार्यले अर्थ राख्ने बताए ।
सरकारी संघ संस्थाहरु पनि जेवि मिडिया प्रालिको कामबाट प्रभावित रहेको उनले बताए । साथै जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले मौसम अनुकुल कम्मल वितरण गरेकोले बिरामीहरुलाई राहत हुने विश्वास व्यक्त गरे । उनले भने, ‘यसले उपचारका लागि आउने बिरामीलाई सहज हुनेछ । अरुलाई पनि सहयोगका लागि उत्प्रेरित गर्नेछ।’