सोलुखुम्बु,– बुङमा फैलिएको अज्ञात रोग इन्फ्लुन्जा ए भाइरस एचथ्री को संक्रमण भएको पुष्टि भएको छ ।
उपचार शुरु गरिएको दुई दिनसम्म बिरामीको सुधार नभएपछि गत शनिबार नमुना संकलन गरी महामारी रोग तथा नियन्त्रण महाशाखा काठमाडौँ लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा मिंमारछिरिङ शेर्पाले बताए।
महाकुलुङ गाउँपालिका–२ बुङमा करिब ३०० बालबालिकासहित अभिभावक एकैसाथ बिरामी परेका थिए । गाउँले सबै बिरामी भएपछि शिविर नै खडा गरी उपचार गरिएको थियो।
बुधबारसम्म ५५० बिरामीको उपचार गरिएको उपचारमा संलग्न डा सन्डु शेर्पाले जानकारी दिनुभयो । बिरामीमध्ये १० बालबालिका र छ अभिभावकको खकार संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।
सो भाइरस विशेषगरी रोगी सुँगुर तथा कुखुराको ¥याल, सिंगान तथा मासुको सम्पर्क भएको खण्डमा मानिसमा सर्ने डा शेर्पाले बताउनुभयो । भाइरलकै कारण ९० प्रतिशत बालबालिका बिरामी भएपछि पेल्माङ आधारभूत विद्यालय बन्द गरिएको थियो । भाइरल नियत्रणमा आएसँगै बुधबारदेखि नै विद्यालयको पठनपाठन सञ्चालनमा आएको विद्यालयका प्रअ टंकबहादुर दाहालले जानकारी दिए।