फलेवास- विगत ८ महिनादेखि जिल्ला अस्पताल, पर्वतको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण तथा बिरामी मर्कामा परेका छन्।
जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या भएको हो। विगत ८ महिना अघिदेखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ। ५ वर्षअगाडि खरिद गरिएको एम्बुलेन्सका पाटपुर्जा बिग्रिएपछि आठ महिनादेखि मर्मतका लागि पोखरामा लगेर छाडिएको अस्पतालले जनाएको छ।
पोखरास्थित सृजना अटो वर्कसपमा लगिएको एम्बुलेन्स मर्मतका लागि ५ लाख रुपैयाँ खर्च लाग्ने जनाइएको छ। मर्मतका लागि कुनै निकाय पनि निकायले रकमको व्यवस्था नगर्दा एम्बुलेस बिना मर्मत थन्किएको जिल्ला अस्पताल विकास समितिका नायब सुब्बा रघुनाथ रेग्मीले बताए।
'कुश्मानगरपालिका, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा पटक पटक जानकारी गराए पनि रकमको व्यवस्था हुन सकेको छैन।,'रेग्मीले भने, 'रकमको अभावमा हालसम्म पनि मर्मत गर्न नसकिएको हो।'
जिल्ला अस्पतालका प्रमुख डा.बुद्धिबहादुर थापाले पनि मर्मतका लागि रकमको अभाव रहेको बताए। अस्पतालमा अहिले दैनिक सयको हाराहारीमा बिरामी आउने गरेका छन्। बिरामीलाई यहाँ उपचार सम्भव नभएमा जिल्लाबाहिर पठाउनुपर्छ।
पोखरा र बागलुङ रिफर गर्नुपर्ने बिरामीले भाडाका ट्याक्सी प्रयोग गर्नुपर्ने अवस्था रहेको जिल्ला समन्वय समितिका प्रमुख राधाकुमारी क्षेत्रीले बताइन्। जिल्ला अस्पतालमा पर्वतसहित बागलुङका आधा दर्जन वडाका बासिन्दाले सेवा लिने गरेका छन्। रासस